अन्तरदेशीय हवाई साझेदारी गर्न सम्मेलन उपयोगी

अन्तरदेशीय हवाई साझेदारी गर्न सम्मेलन उपयोगी


अन्तरदेशीय हवाई साझेदारी गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६औँ सम्मेलन उपयोगी भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौंमा यही भदौ २ देखि ६ गतेसम्म भएको हवाई महानिर्देशक सम्मेलनबारे पत्रकार सम्मेलन गरी प्राधिकरणले खासगरी उडान सुरक्षा, प्राविधिक सहकार्य, क्षेत्रीय सहयोग अभिवृद्धिका साथै सहभागी एक अर्का मुलुकबीच हवाई सेवा विस्तार, जनशक्ति उत्पादन, सुरक्षादर अभिवृद्धिलगायत विषयमा भएको दुई पक्षीय र बहुपक्षीय छलफल अत्यन्तै फलदायी भएको जनाएको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओअन्तर्गत एशिया र प्रशान्त क्षेत्रका हवाई निकायका उच्च अधिकारीको जमघट र त्यसबीचमा भएको छलफल तथा सहकार्यको पहलले बहुमुलुकका लागि उपयोगी भएको उल्लेख गर्नुभयो ।

सम्मेलनबाट नेपाली वायुसेवाप्रदायक कम्पनीलाई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सहजताका साथै अन्य मुलुकबीच पनि हवाई उड्डयन सुरक्षा, क्षमता अविवृद्धि तथा प्राविधिक साझेदारीतालाई थप प्रभावकारी बनाउन सान्दर्भिक भएको उहाँले बताउनुभयो ।

सम्मेलनका दौरानमा आइकाओ काउन्सिल अध्यक्ष, क्षेत्रीय निर्देशकलगायत विभिन्न मुलुकका हवाई महानिर्देशकको नेपालका विभिन्न गन्तव्यको भ्रमण, पर्वतीय उडान, हवाई सङ्ग्रहालय, चन्द्रागिरि हिल्सलगायतको भ्रमणबाट उत्साहित भएका र यसले नेपालको उड्डयन क्षेत्रको विश्वास अभिवृद्धिका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको प्राधिकरणको भनाइ छ ।

आइकाओले हवाई उड्डयन क्षेत्रको भावी पुस्तालाई अभिप्रेरित गर्ने गरी निर्धारण गरेका कार्यक्रमलाई प्रोत्साहन गर्न, हवाई सुरक्षा क्षमता अभिवृद्धि तथा बेइजिङमा भएको मन्त्रीस्तरीय सम्मेलनले गरेको हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी’, ‘एयरनेभिगेसन’, वातावरण व्यवस्थापन आदि विषयलाई कार्यान्वयन गर्न सम्बद्ध मुलुकलाई थप सहजता पैदा गराएको जनाइएको छ ।

हवाई क्षेत्रको सुरक्षा, प्राविधिक पक्षमा स्तरोन्नति, हवाई क्षेत्रका जल्दाबन्दा विषयलाई सम्बोधन गर्न पनि सम्मेलनले सहयोग पुगेको विश्वास व्यक्त गर्दै महानिर्देशक पोखरलेलले सम्मेलनको निष्कर्षलाई आइकाओको आगामी महासभामा प्रस्तुत गरिने उल्लेख गर्नुभयो । उहाँका अनुसार सम्मेलनका अवसरमा छिमेकी मुलुक भारत, चीनसहित बङ्गलादेश, म्यानमार, दक्षिण कोरियालगायत गन्तव्यमा उडान सहजताका लागि दुईपक्षीय छलफलका क्रममा सकारात्मक प्रगति भएको छ ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चीनको ग्वोञ्जाओ, बेइजिङलगायतका गन्तव्यमा उडान गर्न सम्मेलनका अवसरमा दुई मुलुकका हवाई नियामक निकायका अधिकारीबीच छलफल भएको र ती गन्तव्यमा उडान सहजताका लागि सकारात्मक देखिएका छन् । चीनले निगमलाई अक्टोबरसम्मका लागि ‘स्लट’ उपलब्ध गराएको र नयाँ बनेको बेइजिङ इन्टरनेशनल एयरपोर्टमा पनि स्लट उपलब्ध गराउने चिनीयाँ अधिकारीले प्रतिबद्धता जनाएका महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।

चीनको ‘सिभिल एभिएशन अथोरिटी’ का उपप्रशासक (महानिर्देशकस्तरका अधिकारी) सँग नेपाली वायुसेवा कम्पनीले चीनमा उडान गर्न नपाइरहेको अवस्था, देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै धावनमार्गका बाबजुद पनि चीनका पाँच वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । तर निगम र हिमालय एयरलाइन्सले चीनमा लामो समयदेखि ‘स्लट’ नपाएको अवस्थाबारे जानकारी गराइएको थियो । म्यानमार गन्तव्यमा सिँधा उडानका लागि ‘हिमालय २’ रुट प्रयोग गर्ने सन्दर्भमा पनि सकारात्मक छलफल भएको छ ।

दुई पक्षीय वार्ताका क्रममा हिमालय रुटको नक्सासहितको प्रस्तुतिबाट म्यानमार पक्ष सकारात्मक भएको महानिर्देशक पोखरेलले बताउनुभयो । म्यानमारका वायुसेवा प्रदायक कम्पनीलाई नेपालमा छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि पहल गरिदिन नेपाली पक्षले आग्रह गरेको र त्यसबारे चाँडै निर्णय लिइने आश्वासन पाइएको प्राधिकरणले जनाएको छ । यसका लागि दुई मुलुकका हवाई प्राविधिक टोलीले स्थलगत भ्रमणपछि उडान सञ्चालनको वातावरण बन्ने विश्वास लिइएको छ ।

त्यस्तै, दक्षिण कोरियामा नेपाली जहाज उडानका लागि त्यहाँको हवाई नियामक निकायका महानिर्देशकसँग छलफल भएको र निगमको कोरिया उडानका सन्दर्भमा कुराकानी भएको छ । सम्मेलनमा नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले राखेको कालोसूचीबाट हटाउनेबारे दुईपक्षीय छलफल भएको थियो । प्राधिकरणका महानिर्देशक पोखरेलले इयूको कालोसूची हटाउने सन्दर्भमा इयूका पदाधिकारीबीच दुईपक्षीय कुराकानी भएको र त्यहाँ नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढङ्गले राखेको बताउनुभयो ।

इयुको मुख्य दुई चासो नियामक निकायको संस्थागत पुनःसंरचना र हेलिकोप्टर दुर्घटनाबारे नेपालले गरेको पहल र प्रगतिबारे अवगत गराइएको थियो । विश्वव्यापी रुपमा हेलिकोप्टर मुख्यधारको हवाई यातायात क्षेत्र नपर्ने भएकाले उद्धार, विपद्, बिरामी बोक्ने जस्ता कामका निम्ति मात्र प्रयोजन हुने भएकाले ५।७ टनभन्दा माथिका वायुयान दुर्घटनालाई मात्र अन्तर्राष्ट्रियस्तरमा आइकाओलगायतका संस्थाले रेकर्डमा राख्ने गरेको पाइन्छ ।

आइकाओ हवाई महानिर्देशकको सम्मेलन इतिहासमै सबैभन्दा धेरै ४२१ जना विदेशी प्रतिनिधिको सहभागिता रहेको सम्मेलन अत्यन्तै सफल र फलदायी भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपमहानिर्देशक नरेन्द्रबहादुर थापाले सम्मेलनका अवसरमा ‘साइड मिटिङ’ मा हवाई क्षेत्रको सुरक्षा, प्राविधिक सहयोग अविवृद्धिबारे दुई पक्षीय छलफल र समझदारी भएको जानकारी दिनुभयो । प्राधिकरणले युरोपियन सेफ्टी एजेन्सीसँग उच्चस्तरीय छलफल भएको र नेपालले हवाई सुरक्षामा गरेको प्रगति तथा इयुको कालोसूची हटाउने सहजताका लागि कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।

सङ्घीय उड्डयन प्रशासन अमेरिकासँग पनि दुई पक्षीय सकारात्मक छलफल भएको छ । प्राधिकरणका उच्च पदाधिकारी र चिनियाँ उड्डयन निकायका अधिकारीबीच नेपालका वायु सेवालाई चीनमा उडान सहजताबारे छलफल भएको थियो । महानिर्देशकको ५७औँ सम्मेलन आयोजक मुलुक बङ्गलादेशका हवाई अधिकारीसँग पनि दुई पक्षीय हवाई सेवा सहयोग अभिवृद्धिबारे छलफल भएको थियो ।

प्राधिकरणले, सिङ्गापुर, इण्डोनेसिया, जापान, दक्षिण कोरिया, फ्रान्सलगायत मुलुकका हवाई निकायका उच्च अधिकारीसँग उडान सहजीकरण, प्राविधिक सहयोग, पूर्वाधार, जनशक्ति विकास आदिबारे कुराकानी भएको उपमहानिर्देशक थापाले बताउनुभयो ।

आइकाओ क्षेत्रीय कार्यालयको सहयोगमा प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ३६ मुलुकका प्रतिनिधिको सहभागिता थियो । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (आयोटा) लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागिता थियो ।
rss