सिर्सिहवा र विद्यानगर पुर्ण खोपयुक्त वडा घोषणा

सिर्सिहवा र विद्यानगर पुर्ण खोपयुक्त वडा घोषणा


■ सनिउल्ला धोबी, कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ४ सिर्सिहवा र वडा नं १० विद्यानगरलाई आइतवार पुर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । पुर्ण खोपयुक्त घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले बच्चा जन्मेपछि स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु उसको अधिकार भएकाले अधिकार प्राप्त गर्न हरेक अभिभावकले दायित्व समेत निर्वाह गर्नुपर्ने बताउंनुभयो ।

शाहले खोपको अभावमा विभिन्न खालका रोगले आक्रमण गर्न सक्ने भएकाले अब स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्ने क्रममा जन्म देखि १२ महिनाभित्रका सबै बालबालिकाले खोप प्राप्त गरेको बताउनुभयो । उहाँले १२ देखि २३ महिनाभित्रका सबै बालबालिकालाई खोप खुवाएर कृष्णनगर वडा १० पुर्ण खोप युक्त वडा घोषणा गरिएको शाहले बताउनुभयो ।

त्यस्तै कृष्णनगरका नगरपालिका वडा नं ४ सिर्सिहवामा आयोजित पुर्ण खोप वडा घोषणा कार्यक्रमा नगर उपप्रमुख शवनम खातुनले मानिस जन्मने हुर्कने, बढ्ने क्रममा स्वस्थ भएर बाँच्न पाउनु पर्दछ भन्दै अहिले यस वडामा बसोबास गर्ने लक्षित बालबालिकाले पूर्ण रुपमा खोप पाइसकेको बताउनुभयो । नगरवासीले आफना बालबालिकालाई खोपबाट बन्चित गर्न नहुने खातुनको धारणा थियो ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं. १० का अध्यक्ष अब्दुल मोविन खाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको अनेक पाण्डेले जानकारी दिनुभयो ।

नेपाल सरकारको स्वास्थ्य क्षेत्र खोप सेवाअन्तर्गत पहिलो प्राथामिकता प्राप्त कार्यक्रम हो । वि.सं. २०३४ मा विस्तारित खोप सेवा नामबाट प्रारम्भ भई व्यापकता पाएको खोपसेवाले अहिलेसम्म आइपुग्दा समयसापेक्ष भएका नीतिगत सुधार सेवाको विस्तार गरी मानवीय र संस्थागत संरचनामा भएको स्तरेिन्नतिले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा सुधार हुँदै बाल मृत्युदरमा कमी आई अपांगतामा सुधार देखिएको छ ।

खोप सेवा कार्यक्रमले सम्पुर्ण बालबालिकाहरुलाई नियमित खोपबाट उपलब्ध भएको सबै खोपसेवा उपलब्ध गराई बालबालिकाको रोग दर, मृत्यूदर, अपांगता दरमा कमी ल्याउनु राष्ट्रिय खोप कार्यक्रमको मुख्य लक्ष्य हो ।