सप्तरीमा रगत अभाव, सशस्त्र प्रहरीले गरे रक्तदान

सप्तरीमा रगत अभाव, सशस्त्र प्रहरीले गरे रक्तदान


■ हेमशंकर सिंह, राजविराज

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।

दैनिक रुपमा न्यूनतम तीन पिण्ट रगतको खपत रहेकोमा हाल रक्तसञ्चार केन्द्रसँग जम्मा ८ पिन्ट मात्र रगत छ । यी सबै रगत बी पोजेटिभ रक्त समुहका हुन् ।

करिब एक महिनादेखि संस्थागत रुपमा रक्तदान कार्यक्रमको आयोजना नभएकाले रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख नवीन झाले बताए ।

दुर्लभ समुहका रगतको त यहाँ एकदमै अभाव छ । ए पोजिटिभ, ए नेगेटिभ र बी नेगेटिभ जस्ता दुर्लभ रक्तसमुहको रगत नभएपछि ती रक्त समुहका व्यक्ति कठिनपूर्वक खोजेर रगतको अभाव पूर्ति गर्नुपरेको प्रमुख झाले बताए ।

गत बिहीबार प्रसुति गराउन राजविराज ल्याइएकी दुई जना गर्भवती महिलालाई ए नेगेटिभ र ए पोजिटिभ रगत उपलब्ध नभएपछि सेना र प्रहरीसमक्ष गुहार माग्नु परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा समेत उक्त रक्त समुहका रक्तदाता नभेटिएपछि राजविराजस्थित भीमदल गणका दुई जना सैनिक जवानले रक्तदान गरी ती दुवै महिलाको ज्यान जोगाएका थिए ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कुपहीका पवन मुखियाको २८ वर्र्षीाया श्रीमती रामवती मुखियाको प्रसुती गराउन राजविराजस्थित अनार भूपेन्द्रनाथ हस्पिटलमा भर्ना गरिएको थियो । शरिरमा रगतको कमी भएको उनलाई ए पोजेटिभ रगतको आवश्यकता भएको र सो रक्त समुहको रगत ब्लड बैंकमा नभेटिएपछि राजविराजस्थित भिमदल गणका अमल्दार माधवराज रानाले रक्तदान गरी उनको ज्यान जोगाएका थिए ।

यस्तै राजगढ गाउँपालिका वडा नम्बर ६ बर्दाहीका गणेश यादवकी २४ वर्षीया श्रीमती ललिता देवी यादवको पनि प्रसुती गराउन भिमदल गणकै सिपाही टेकबहादुर शाहले एक पिन्ट बी नेगेटिभ रगत रक्तदान गरी ज्यान जोगाएका थिए ।

रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएकै बेला सशस्त्र प्रहरी बलले गत शुक्रबार रक्तदान कार्यक्रमको आयोजन गरेपछि केही दिनसम्मका लागि रक्तसञ्चार केन्द्रलाई राहत भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका गोरगामास्थित सशस्त्र प्रहरी बल नं. ६ गणले शुक्रबार आफ्नो कार्यालय परिसरमै आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना सईसहित २८ जना सशस्त्र प्रहरी जवानहरुले रक्तदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको गठनका लागि तत्कालीन संसदबाट पारित भएको ऐनमा लालमोहर लागेको दिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गणका गणपति प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए । २०५८ साल भदौ ९ गते संसदबाट पारित सशस्त्र प्रहरी बलको गठनसम्बन्धी विधेयकमा लालमोहर लागेको थियो भने सोही सालको कात्तिक ७ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो ।

रक्तदान गर्नेहरुमा सशस्त्र प्रहरीका सई भुपेन्द्रप्रसाद बहडखेर, सशस्त्र प्रहरी जवानहरु रामशरण महतो, राजकुमार चौधरी, दानबहादुर गुरुङ, मनकुमार कार्की, तुलसीकुमार गुप्ता, रवीन परियार, राजकुमार माझी, दशरथ भुजेल, कृष्णदेव झा रहेका छन् ।

यसैगरी संजिवकुमार यादव, पप्पु कुमार राउत, अर्जुन श्रेष्ठ, अतीत भट्टराई, राजु राणा, श्यामकुमार श्रेष्ठ, कुमारबहादुर बोगटी, भोजन शाही ठकुरी, भुवनेश्वर यादव, देवेन्द्र कुमार माझी, विनोद घिसिङ, सम्पत कार्की, सुरेशकुमार दनुवार, राम थापा मगर, इन्द्रदेव चौधरी, प्रेम बुढाथोकी, भीमबहादुर विष्ट, कुमार कार्की र आषिक लामा रहेका छन् । उनीहरु सशस्त्र प्रहरी बल ६ नं. गण गोरगामा, बोर्डर आउट पोष्ट बनैनीया, कडरवोना र सितापुरमा कार्यरत रहेका छन् ।

रक्तसञ्चार केन्द्रमा मौज्दात रहेको ८ पिन्ट रगत र सशस्त्र प्रहरी बलका २९ जनाले शुक्रबार गरेको रक्तदानबाट प्राप्त रगतले दुई साता मात्र रगतको पूर्ति हुने भएको भन्दै रक्तसञ्चार केन्द्रका प्रमुख झाले रगतको अभाव हुन नदिन विभिन्न संघ संस्था र राजनीतिक दलहरुसँग समेत आग्रह गरेका छन् ।