अर्घाखाँची पुगेर सञ्चारमन्त्रीले भने- ‘सरकारबारे दुष्प्रचार भयो’

अर्घाखाँची पुगेर सञ्चारमन्त्रीले भने- ‘सरकारबारे दुष्प्रचार भयो’


■ सुरज घिमिरे, अर्घाखाँची

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेकोे दाबी गरेका छन् । अबको पाँच वर्षभित्रमा देशको मुहार फेरिने उनको जिकीर छ ।

देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको र देशको समृद्धिका निम्ति जग बसाल्ने काम सकिएको बताउदै उनले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए ।

अर्घाखाँची सितगंगा नगरकै पहिलो रेडियो सितगंगा एफएम १०७.९ मेगाहर्ज को उद्घाटन गर्न गुल्मी आएका मन्त्री बास्कोटाले सरकारले विकास गरेन भन्ने दुष्प्रचार भैरहेका बताए । सरकारले गरेका कामलाइ राम्रोसँग नियाल्न पनि उनले आग्रह गरे ।

उनले अर्को निर्वाचनमा सरकारले गरेका कामको मुल्यांकन जनताले नै गर्ने बताउँदै कसैले दुष्प्रचार गरेर सरकारलाई कुनै परवाह नहुने बताए। रोपेको धान पाक्न त तीनचार महिना लाग्छ भन्ने तर्क गर्दै सरकारले गरेका काम पनि अहिले झ्याप्पै नदेखिने तर पछि राम्रो नतिजा आउने उनको भनाई थियो ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको उदघाटन गर्दै मन्त्री बास्कोटाले जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिल्यै पनि नगर्ने बताए ।

अर्घाखाँचीमा एक वर्षमा फोर जी सेवा विस्तार गर्ने प्रतिबद्धताका साथ नेपालकै सबैभन्दा ठूलो नगरपालिका शितगंगा नगरपालिकामा ल्यान्डलाइन सेवा विस्तार गर्ने उनले आश्वासन दिए ।

आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुको रहेकोमा पत्रकारहरुबाट त्यो हुन नसकेको गुनासो मन्त्री बास्कोटाले गरे । विश्वसनीय ढंगमा पत्रकार आचारसंहिताभित्र रहेर कलम चलाउन सञ्चारकर्मीलाई उनले सुझाव दिए । पत्रकारहरु आचारसंहिता भन्दा बाहिर गएकाले नियन्त्रण गर्न मिडीया विधेयक ल्याइएको खुलासाा पनि उनले गरे ।

अर्घाखाँचीमा रहेको २ सय ४५ मेगावाट क्षमताको नौमुरे जल विद्युत परियोजना सञ्चालनका लागि सरकार लागिरहेको बताउँदै यसबाट अर्घाखाँची सहित देशभरनै विद्युत आपुर्ति हुने जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नजीर मिया, प्रदेस सांसद चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, नेकपा जिल्ला सहइन्चार्ज सुशीला श्रीपाली, सचिव ठाकुरकुमार विक, नेपाली कांग्रेसका जिल्ला सचिव छविलाल पौडेल, पत्रकार महासंघका प्रदेस उपाध्यक्ष भरत केसी लगायतले मन्तब्य राखेका थिए ।