‘रवि-प्रकरण’ भजाएर मालामाल बन्न खोज्नेहरू !

‘रवि-प्रकरण’ भजाएर मालामाल बन्न खोज्नेहरू !


■ राजन घिमिरे

‘छविको चर्चा सेलाउंन नपाउँदै रवि उदाए !’ भन्नेहरूको यतिबेला कमी छैन । तर, रवि अहिले उदाएका होइनन् । रवि अर्थात् रवि लामिछाने, जो केही वर्ष अमेरिका रहँदाबाहेक अघि पनि र त्यसको पछि पनि नेपालको टेलिभिजन क्षेत्रमा संलग्न रहँदै आएको नाम हो ।

पछिल्लो समय टेलिभिजन कार्यक्रम प्रस्तोताको रूपमा रविको चर्चा चुलिएकै हो, दर्शकहरूबाट व्यापक वाहवाही हात पारिरहेकै समयमा उनलाई शालिग्राम पुडासैनी प्रकरणले चाहिँ चर्चामा चुलीमै पु¥यायो । यो चर्चाले रविलाई दिर्घकालीन रूपमा औंला ठड्याउने अवस्थामा पार्छ कि उनको शीर अझै ठाडो पार्छ ? यो सवालको जवाफचाहिँ समयकै गर्भमा छोडौँ ।

प्रहरी र अदालतमा विचाराधीन यो प्रकरणका कारण रवि र उनको टिम यतिबेला तनावमा भने छ । दुःखको कुरा यो छ कि उनको यही तनाव, अप्रत्यासित रूपले आइपरेको झमेला, मुद्दा–मामिला, विरोधि पक्षबाट लगाइएको आरोप र समर्थकको उकुसमुकुस पार्ने भेल कतिपयका लागि भने कमाउ धन्दा र नाममा साँध लगाउने उर्बर माध्यम बन्न पुगेको छ ।

रवि–प्रकरणको आडमा नाम चलाउने र दाम कमाउनेहरूले आ–आफ्नै खेल खेलेका छन् । तिनको उद्देश्य पनि फरक–फरक छ ।

शनिबार करिब ५ घण्टा चितवन बसाई र घटनाको अध्ययनका क्रममा पङ्क्तिकारले बुझ्यो कि त्यहाँ जम्मा भएकामध्ये कतिपय व्यक्ति र खासगरी अधिकांशजसो यूट्यूबरहरू त यो प्रकरण अझै बल्झियोस्, यो प्रकरणमा नयाँ–नयाँ टुइष्ट आओस् र मामला निरन्तर चलिरहोस् भन्ने कामना गर्दा रहेछन् । रविको हृदयमा कति तनावका छाल उर्लिएको होला ? यसको अनुभूति अरूले गर्न सक्दैन । यो प्रकरणले चाँडै निकास् पाओस् भन्ने चाहना उनको छ, तर यही प्रकरण र रविलाई भजाएर आफ्नो यूट्युब च्यानलको सस्क्राइब र भ्यूज बढाउने खेल र हानथापमा लागेका छन् ती । सायद यस्तैबेला भनिन्छ– ‘कसलाई केको धन्दा घरज्वाईंलाई खानकै धन्दा’ भनेर ।

रवि–पुडासैनी प्रकरणले गर्दा मेरो यति सस्क्राइब बढ्यो, यति भ्यूज बढ्यो, यति जनाले हेरे अनि यति डलर आयो भनेर अरूको भावना, संवेदना र विवशतालाई डलरमा साट्ने महानुभावहरूको सोच–विचार र भीड देख्दा लाग्यो साँच्चै हाम्रो समाजमा मानवीय संवेदना बेस्सरी हराउँदै जान थालेको छ । मुद्दामा जबर्जस्ती मुछिएका ब्यक्तिको नामको सहारामा आफ्नो नाम र ब्यापार गर्नेहरुको जीवन पनि चलेकै छ यहाँ । मुद्दासँग आवद्ध नहुने र मिडियाभोगी केहीको जवाफ, तर्कवितर्क र ओठेप्रमाणहरू देख्दा लाग्छ यिनीहरू नै वकिल, न्यायाधीश, प्रहरी र प्रशासन हुन् !

प्रकरणलाई कसरी सुल्झाउने, कसरी मत्थर पार्ने ? वा, सामान्यीकरण गरेर सहज निकास कसरी दिने भन्ने सोच–विचार नै देखिएन । प्रकरणमा मुछिएकालाई हिरासतमुक्त नै गर्न आएजस्तो ढाँचा प्रकटे गरेर आफ्नो स्वागत तथा प्रचारप्रसार गराई ताली बजाउन लगाएर मख्ख पर्ने पात्रहरू समेत त्यहाँ भेटिए । राजा–महाराजाको पदार्पण भएजस्तो हाउभाउ देखाउनेहरूले नै यो प्रकरणलाई चाँडो निकास दिने चाहना राखेको देखिएन । उनीहरू त यो मामला लम्बियोस् अनि नानाथरीका कुरा गरेर यूट्युबमा छाऔँला भन्ने दाउ हेरेर बसिरहेका रहेछन् । आफ्नो भाषण, अनुहार र नाम बिकाउन खोजिरहेका रहेछन् । समस्या र तनावमा भएकाहरूको बारेमा चासो भन्दा पनि आफ्नो अनुहार यूट्यूबमा देखाउने अनि रविको बारेमा फलानोले यसो भने, फलानो जंगियो, फलानो कड्कियो जस्ता हेडलाइन फुराउँदैमा मग्न छन् ती ।

रवि–पुडासैनी प्रकरणलाई नजिकबाट नियालेका र आधिकारिक रूपमा यो मामासँग सम्बन्धित पात्रहरूसँग त्यति प्रमाण छैन होला जति बाहिर बसेर विभिन्न यूट्युबवालालाई अन्तरवार्ता दिनेहरूसँग छ । केहीलाई यो प्रकरणले सहज निकास पाएमा सन्तुष्टि नमिल्न सक्छ । किनकि यो मुद्दा सकियो भने यूट्युबमा फेरि के मुद्दा लिएर प्रस्तुत हुने भन्ने तनाव शुरु हुन्छ उनीहरूलाई । फलानो आउने रे भाषण गर्ने रे ? जस्ता कुरा गरेर मूल मुद्दालाई छायामा पारेर पहिचानविहीनहरूको पछाडि लागेर पहिचान बनाएकाको मुद्दालाई छायामा पार्न मिल्छ ? जो भए पनि यतिबेला पीडामा भएकालाई न्यायको खाँचो छ भाषणको होइन । को दोषी को निर्दोषी भन्ने निर्क्योल गर्न सक्नु यतिबेलाको आवश्यकता हो । पीडामा पिल्सने पिल्सिरहेको छ, यस्तोमा तपाईंहरूको नाम र अनुहार बिकाउन पीडकहरू कहिलेसम्म प्रयोग भैरहने ?

यहाँ केही यस्ता ब्यक्ति पनि छन् कि जुनसुकै घटना वा पात्रका बारेमा पनि यूट्युबमा अन्तर्वार्ता दिन अगाडि सरिहाल्ने तिनको बानी छ । राजनीति पनि थाहा छ तिनलाई अनि चलचित्र पनि तिनैले बुझ्ने ! खेलकुद पनि तिनै जान्ने, यहाँ–वहाँ सारा विश्व ब्रह्माण्डको बारे जे मामला उठे पनि अघि सरेर बोल्नुपर्ने । सबै विधा वा क्षेत्रका ज्ञाता हुन् यिनीहरू । यस्तै उपबुज्रुकहरूको फोस्रा भाषणका कारण कुनै पनि मामला सेलाउने नभई आगोमा घ्यु थपिने गरेको छ । सम्बन्धित निकायसँग न त यिनको चिनजान छ न पहुँच नै । अनि बजारमा मनगढन्ते कुरा गर्दै फलानो प्रहरीले यसो भने, रविले यसो भने भनेर सबैलाई गुमराहमा राख्ने खालका कुरा गर्छन् । र, यूट्युबरहरूलाई पनि सजिलो, तिनैका बेतुकका कुरामा बहकिएर हेडलाइन हाल्छन् ।

हे महाशयहरू ! तपाईंहरूको जथाभावी बोली र हेडलाइनले यस्तो प्रकरणमा परेकालाइ बाहिर निस्कन सजिलो हुन्छ कि झन् दलदलमा पुऱ्याउँछ ? यसबारेमा सोच्नुभएको छ कहिल्यै ? जसको नाम वा छविको सहारामा ‘हिरो’ बन्न खोजिरहनुभएको छ, त्यसमाथिको अपमान होइन र ? समाज भड्काउने हेडलाइन राख्दै अनि मुल मुद्दालाई छाडेर कस्तो समाज निर्माण गर्न खोजिएको हो ? यतिबेला च्याउसरी मौलाएका यूट्युबरहरूले गम्भीर भएर सोच्ने कि ?