मन हर्ने मुख रसाउने मनाङको स्याउ !

मन हर्ने मुख रसाउने मनाङको स्याउ !


  • छविलाल बगाले

हिमाली जिल्ला मनाङ रैथाने स्याउको लागि अब्बल मानिन्छ । शहर बजारमा पनि चिसो हावापानीमा फलेको मनाङी स्याउको माग उच्च छ । तर स्याउ विस्तारका लागि सरकारी सहयोग नपाएको गुनासो किसानको छ ।

मनाङी स्याउ मनाङको चिसो हावापानीमा फलेकोले यहाँका स्थानीयले यसलाई मनाङको मौसमी उपहार मान्ने गर्छन् । हिजोआज मनाङमा अर्गानिक स्याउ लटरम्म फलेको देख्न सकिन्छ ।

जिल्लाका केही किसानले वर्णशंकर स्याउ पनि भित्र्याएका छन् । छोटो समयमै फल दिने र आम्दानी धेरै हुने भएपछि किसानले बर्णशंकर जातको स्याउलाई बारीमा सजाएका छन् । तर आफ्नो मौलिकतासँग जोडिएकोले जिल्लाका अधिकांश किसानले रैथाने स्याउलाई नै प्राथमिकता दिइरहेका छन् ।

जिल्लाका किसानले पाँचमुखे, चारमुखे, चक्लेट, गोल्ेडन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियसजस्ता पुराना जातका स्याउ फलाएका छन् ।

रैथाने स्याउमा बर्णशंकरजस्तो कीटनाशक औषधिबिना नै फलाउन सकिने अगुवा किसानको भनाई छ । विगतका बर्षहरुको तुलनामा यसबर्ष धेरै स्याउ फलेको किसानहरु बताउँछन् ।

अहिले जिल्लाको तिच्चे, थोंचे, दानाक्यू, ताँचै, तिमाङ, थान्चोक, चामे, पिसाङ, हुम्दे, मनाङ, खाङ्सार, ङावल, घ्यारु लगायतका क्षेत्रमा पूरानो जातका स्याउ फल्ने गरेको छ । जिल्लाका सबै स्थानमा मोटरबाटो पुगेकोले यसबर्ष स्याउ नकुहिने किसानको तर्क छ ।

मनाङमा करिब ७० हेक्टर जमिनमा रैथाने जातको स्याउ खेती हुँदै आएको छ । गतवर्ष यो जातको स्याउ ५ सय टन स्याउ उत्पादन भएको थियो । जिल्लामा स्याउ खेती विस्तार तथा स्याउको क्षेत्रमा काम गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, (स्याउ जोन) समेत स्थापना गरिएको छ ।

नासों गाउँपालिकाले पनि रैथाने स्याउ विकासका लागि कार्यक्रम बनाएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले बताउँछन् । ,

किसानहरुबीच रैथाने जातका स्याउ रोप्ने प्रतिस्पर्धा नै छ । तर सरकारी तवरबाट अपेक्षित सहयोग भने नपाएको किसानको गुनासो छ । सिँचाइ, मलखाद, उपचारलगायतको व्यवस्थापकीय पक्ष राम्रो हुने हो भने मनाङ मुस्ताङको तुलनामा कम नहुने तर्क किसानको छ ।