इयूको कालोसूची हटाउन नेपालको पहल

इयूको कालोसूची हटाउन नेपालको पहल


■ सिबी अधिकारी

युरोपका आकाशमा नेपाली जहाजलाई उडान प्रतिबन्ध गरिएको विषयमा नेपाली पक्षले जोडदारका साथ कुरा उठाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६औँ सम्मेलनका अवसरमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले राखेको कालोसूचीबाट हटाउनेबारे दुईपक्षीय छलफल गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले इयूको कालोसूची हटाउने सन्दर्भमा इयूका पदाधिकारीबीच दुईपक्षीय कुराकानी भएको र त्यहाँ नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढङ्गले राखेको राससलाई जानकारी दिनुभयो । उक्त विषयलाई आगामी दिनमा प्राथमिकताका साथ अगाडि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

इयूले उडान सुरक्षा मापदण्ड परिपालना नगरेको भन्दै सन् २०१३ देखि नेपाली हवाई जहाजलाई युरोप प्रवेशमा रोक लगाउँदै आएको छ । उसले प्राधिकरणलाई कानूनीरूपमा नियामक र सेवाप्रदायक छुट्टाछुट्टै निकायको रूपमा स्थापित गर्न भनेको छ । तर, यही विषयले मात्र नभई अन्तर्राष्ट्रिय उड्डयन संस्थाको मापदण्डअनुरूप सेवा सञ्चालन नभएको प्रश्न उठाएको छ ।

कालोसूचीबाट नेपाललाई हटाउने सन्दर्भमा इयु र नेपाली उड्डयन अधिकारीबीच गत जनवरी १९ मा दुईपक्षीय वार्ता समेत भएको थियो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन ।

आइकाओले भने सुरक्षा परीक्षणमा नेपालले आधारभूत विश्वव्यापीस्तर पार गरेको भन्दै सन् २०१७ मै नेपाली वायु सेवालाई राखेको गम्भीर सुरक्षा चासोको सूचीबाट हटाइसकेको छ । उसले सुरक्षा परीक्षणमा निर्धारित प्रक्रिया पालना नगरेको भन्दै सन् २०१३ मा नेपाललाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो ।

यसैबीच आइकाओ एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको सम्मेलन सफलताका साथ सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आइकाओ हवाई महानिर्देशकहरुको सम्मेलन इतिहासमै सबैभन्दा धेरै ४२१ जना विदेशी प्रतिनिधिको सहभागिता रहेको सम्मेलन अत्यन्तै सफल र फलदायी भएको प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ३६ मुलुकका प्रतिनिधिको सहभागिता थियो । आइकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ पदाधिकारीहरुलगायत एशिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्था सम्मेलनमा सहभागी थिए ।

पाँच दिनसम्म भएको सम्मेलनमा खासगरी उडान सुरक्षा, हवाई सुरक्षा सुविधा, एयर नेभिगेसन सेवा, हवाई वातावरणसम्बन्धी विषय, प्राविधिक सहयोग, क्षेत्रीय सहकार्यलगायत विषयमा छलफल भएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।

महानिर्देशक पोखरेलका अनुसार भारत, चीन, बङ्गलादेश, दक्षिण कोरिया, जापान, इण्डोनेशिया, सङ्घीय उड्डयन प्रशासन अमेरिका र युरोपेली उड्डयन सुरक्षा एजेन्सीसँग दुई पक्षीय सकारात्मक छलफल भएको छ ।

सम्मेलनको निष्कर्षले आइकाओको भावी रणनीति तयार गर्न सहयोग पुग्ने बताइएको छ । सम्मेलनको प्रतिवेदन आगामी अक्टोबर महीनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा प्रस्तुत गरिनेछ ।

सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा)लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागिता थियो ।

यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । यसअघि नेपालमा सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यो सम्मेलन अर्को वर्ष बङ्गलादेशमा हुनेछ ।
rss