भारतीय नम्बर प्लेटमा कडाई नगर्न राजपाको माग

भारतीय नम्बर प्लेटमा कडाई नगर्न राजपाको माग


■ नारद कोहार, कपिलवस्तु

भारतीय नम्बर प्लेटका सवारी साधन, मलखाद समस्या र विद्युत कटौतीलगायतका समस्याबारे राष्ट्रिय जनता पार्टी कपिलवस्तुले सरकारको ध्यानआकर्षण गराएको छ ।

राजपाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा राजपाका नेताहरुले नेपाल भारतबीच सदियौँदेखि रोटीबेटीको सम्बन्ध रहेको भन्दै नेपाल सरकारले भारतीय नम्बर प्लेटलाई भन्सारमा कडाई गर्ने गरी गरेको निर्णयप्रति राजपा कपिलवस्तुको गम्भीर ध्यानआकर्षण भएको जनाएको हो । यस्तो निर्णय संशोधनका लागि सरकारसँग राजपा नेताले माग गरेका छन् ।

सरकारले मलखाद सहज आपुर्तिको व्यवस्था यथाशीघ्र गर्नुपर्ने राजपाका जिल्ला संयोजक अब्दुल सलीमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेताहरुले जथाभावी विद्युत कटौतीलाई रोक्दै नियमित रुपमा विद्युत आपुर्तिको व्यवस्था मिलाउन अध्यक्ष मण्डलका सदस्य कैलाश अग्रहरीले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

पत्रकार सम्मेलनमा राजपाका केन्द्रिय सहमहामंत्री रवि दत्त मिश्रा, केन्द्रिय सदस्यहरु रविन्द्रनाथ मिश्रा, सन्तराम अग्रहरी, अध्यक्ष मण्डलका सदस्य कैलाश अग्रहरी, चिन्नीलाल विक, जिल्ला नेता ओमकारनाथ शुक्लासहितको उपस्थिति रहेको थियो।