‘अमेजन’को डढेलो र हाम्रो नियति

‘याद राखौँ– ढुंगा नभए माटोले काम चल्छ तर पानीको विकल्प अरू केही हुन सक्दैन’





■ रघु आदित्य/प्रकाश आस्था

बारा जिल्लाको निजगढमा ८ हजार हेक्टर वन फाँड्ने योजनाबारे सुन्नुभएको छ ? संसारकै अक्सिजनको मुटु मानिने Amazon जंगलमा डढेलो लागेर कहालिलाग्दा तस्बिर आइरहेका बेला बाराको जंगल मास्ने विषयले तर्साएको छ । ‘विकास गर्न वन मास्ने’ तर्क चल्दै गर्दा त्यसपूर्व केही तथ्य बुझौँ ।

हिथ्रो एयरपोर्ट (लन्डन) संसारको सबैभन्दा व्यस्त एयरपोर्टमध्य एक हो । यसको क्षेत्रफल १ हजार २ सय १४ हेक्टर छ । भारतको दिल्ली एयरपोर्ट २ हजार ६६ हेक्टर क्षेत्रफलको छ । यी दुवै संसारका व्यस्त र ठुला एयरपोर्ट हुन् । जबकि हाम्रो सरकार ८ हजार हेक्टर क्षेत्रफलको विशाल हरियो जंगल फाँडेर निजगढलाई मरूभूमि वनाउँदैछ । निजगढको प्रस्तावित फँडानी क्षेत्रको क्षेत्रफल हिथ्रोको भन्दा सात गुणा बढी, दिल्लीको भन्दा ४ गुणा बढी र अहिलेको त्रिभुवन विमानस्थलभन्दा ४० गुणा बढी हो । यत्रो जंगल मास्नुपर्ने भ्यालिड कारण के हुन् ? नानीभन्दा आची ठुलो भनेजस्तै वन काट्नका लागि यो फुरफुर किन ? सैयौँ प्रकारका जडीबुटी, प्राणी र चराहरूको वासस्थान विनाशको योे महालीलाको कल्पना मात्र गर्नुस् त !

लौ हरियाली त तपाईंले मन लागेको ठाउँमा जतिखेर पनि तयार गर्न सकिएला रे ! तर हरियाली एकैछिनमा छुमन्तर गरेर बनाउन सकिएला र ! तर प्राकृतिक विविधतायुक्त वनलाई एकै झमटमा डोजर र आरो लगाएर मासेपछि त्यसले गर्ने वन्यजन्तुको आश्रयको विनास, पानीको मुल र अन्य विविधताको विनासको क्षतिपूर्ति वर्षाैं गर्न सकिन्न । त्यसले त्यस क्षेत्रमा तत्काल पानीका मुल सुक्ने र पानी नपर्नेलगायत प्राकृतिक विनास त निम्तिहाल्छ । ख्याल राख्नुपर्ने कुरो छ, बढ्दो शहरीकरण र प्राकृतिक वासस्थानको विनासले भारतमा अहिले पानीको महासंकट छ ।

अबको १० वर्षमा भारतमा ४० प्रतिशत पानीका प्राकृतिक मुलहरू रूपमा सकिने प्रक्षेपण छ । अहिले नै दक्षिण भारतमा पानीको हाहाकार छ । तर हामीलाई भविष्यको अलिकति पनि चिन्ता छैन ।

हामीलाई अरूको कुरा ठ्याक्कै नक्कल (कपी पेस्ट) गर्दा विकाश भएको जस्तो लाग्छ– तर नेपाल मरुभूमिको देश होइन । दुबई र कतारको लागि सुहाउँदो विकास योजना नक्कल गरेर निजगढको घना चारकोसे झाडीमा नक्कल गर्दा हामी नेपालीले आफ्नै पहिचान र सुन्दरतालाई चिन्न नसकेको आभास हुन्छ । त्यो प्राचीन र अति घना जंगलको स्थान अनि त्यहाँका प्राणी र मानिस समेतको लागि त्यसको मूल्य जे छ, अरू कुनै ठाउँमा रूख रोपेर त्यसको क्षतिपूर्ति हुनै सक्दैन । याद राखौं, ढुंगा नभए माटोले काम चल्छ तर पानीको विकल्प अरू केही हुन सक्दैन ।

आफ्नो भएको विमानस्थलको चरम अव्यवस्था र भ्रष्टाचारलाई नसच्याउने र ‘एउटी श्रीमती हुँदाहुँदै अर्कोमा आँखा लगाए’ जस्तै गरी नयाँ, चिल्लोचाप्लो र ठूलो कुराको लोभमा आफ्ना अर्बाैं तिर्दा नपाइने प्राचीनतम् जंगलहरूलाई आलु र बदाम जस्तो तुच्छ भाउमा सरकारले बेच्न खोज्दा हाम्रा ‘वातावरणवादी’हरू बोल्नुपर्दैन ?

बरू नक्कल नै गर्ने हो भने दुबई र कतारको विकास योजना होइन हामीजस्तै प्राकृतिक श्रोत साधन र जङ्गलमा धनी समकक्षी देश वा प्रदेशहरूको गर्न सकिन्छ जसले आफ्ना मौलिक वनजंगललाई हेला नगरी, त्यहाँका प्राणीलाई मर्का नपर्ने गरी तिनै वनजंगललाई दीगो रूपमा क्यापिटलाइज गरेर विकासको फड्को मार्न थालेका छन्– सिक्कम र भुटान जस्तै । धैरै पैसा हुने पर्यटकहरू स्वच्छ हावा र पूर्णतः प्राकृतिक जीवनको अनुभुति गर्न त्यहाँ जाने गरेका छन् । संसारका सबैभन्दा अग्ला १० हिमालमध्ये ८ हिमाल भएको नेपालले हरित पर्यटन, योग पर्यटन, स्वास्थ्य पर्यटन, ध्यान पर्यटन र अर्गानिक पर्यटनका नाममा करोडौँ भित्र्याउन सक्ने सामथ्र्य छ त ! त्यसका लागि भैरहवामा विमानस्थल बनिसकेकै छ त ! पहिले त्यसको व्यवस्थापन गरेर त्यस विमानस्थलमा पर्याप्त जहाज ल्याउन सकौं न ! संसारभरका एयरलाइन्सको ट्रान्जिट त्यसलाई बनाउन सकौँ न ! पहिला हातमा आएको बुत्याउँ न ! त्यो निलिसकौँ न !

अरबका मरुभूमिहरू त प्राकृतिक हिसाबले कंगाल छन् । उनीहरूले उब्जाउ नहुने मरूभुमिमा एयरपोर्ट बनाएर त्यसलाई क्यापिटलाइज गरेका मात्र हुन् । अरबमा त एउटा खजुरको रूख काट्दासमेत लाखौँ जरिवाना र जेलको व्यवस्था छ । हामीले त आफ्नो सम्पदालाई चिन्न मात्र नसकेको हो । यी सम्पदाको मूल्य बुझ्ने देशहरूले वनजङ्गल नमासिकन र तिनलाई हेलाँ नगरी तिनकै माध्यमबाट धेरै प्रगति गरेका छन् । निजगढको वन हाम्रो सम्पदा हो । सैयौं वर्षमा हुर्केका रूख, ताल, मुल, प्राकृतिक वासस्थान, हरियाली एकै पटक विनाश गर्ने योजनाविरुद्ध उभिउँ ।

प्रतिक्रिया