कन्टेनरमा करेन्ट लाग्दा…

कन्टेनरमा करेन्ट लाग्दा…


चालू लाइनको तार एक–आपसमा जुध्दा विद्युत प्रवाह भएका कारण सीमावर्ती क्षेत्र रसुवागढीमा शुक्रबार बिहान एक कन्टेनर डिब्बा जलेर नष्ट भएको छ । सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्ती २१ नम्बर गुल्म टिमुरेका गुल्मपति एवं प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार सामान लिनका लागि चीनको केरुङ जाने लाइनमा पर्किङ गरी राखिएको ना.३ख ४८७३ नम्बरको कन्टेनर डिब्बा मितेरी पुल र घट्टेखोलाबीच रसुवागढीछेउकै राजमार्गमा जलेको हो ।

हावाका कारण गढीक्षेत्रको प्रसारण लाइन एक–आपसमा जुध्न जाँदा विद्युत लाइनमुनि पार्किङ गरी राखिएको कन्टेनर डिब्बाको छतमा विद्युतको तारले छोएपछि एक्कासि निस्केको आगोले जलेर नष्ट भएको बताइएको छ । कन्टेनरमा लागेको आगो नियन्त्रका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा जुटे पनि नजिकमा पानीको स्रोत तथा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रण गर्न कठिनाइ पर्न गई डिब्बा पूरै जलेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

विद्युत प्राधिकरणले खम्बामा तारको राम्रो व्यवस्थापन गर्न नसकेका कारण थोरै हावाले पनि विद्युत तार जुध्ने समस्या जटिल हुँदै गएको र चालू विद्युतको तारमुनि सवारीसाधन पार्किङ गर्नु सवारीचालकको समेत गल्ती भएको स्थानीय बासिन्दाले बताएका छन् ।