संसद् भवनमा सुविधासम्पन्न चमेनागृह

संसद् भवनमा सुविधासम्पन्न चमेनागृह


नयाँ बानेश्वरस्थित संसद भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ ।

करिब ६ महिना निर्माण अवधि तोकिएको चमेनागृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज (बुधबार) हस्तान्तरण गरियो । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चमेनागृहको उदघाटन गर्दै मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएका बेला इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेर समयमै काम सम्पन्न हुन्छ भन्ने सन्देश चमेनागृहले दिएको बताए ।

अन्तरर्नष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय एवं सहकार्यले समयमै काम सम्पन्न भएको जानकारी दिए ।

सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते घिसिङ–कुँवर जेभी निर्माणलाई रु. दुई करोड ७८ लाखमा चेमनागृहको निर्माणका लागि ठेक्का दिएको थियो । ठेक्काअनुसार ६ महिना अवधि भदौ ८ गते पूरा हुँदै थियो ।

करिब १० हजार ५५७ वर्गफिट क्षेत्रफलमा निर्माण भएको चमेनागृहमा १८६ जनासम्मको भोजनकक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद दवाडीले बताए ।

मुस्लिम समुदायका लागिसमेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था चमेनागृहमा गरिएको छ । गृहमा भान्छा हल, भण्डार कक्षका साथै अति विशिष्ट व्यक्तिका लागि छुट्टै भोजनकक्षको समेत व्यवस्था गरिएको छ ।
रासस