विदेशी नागरिकमाथि जापानले गऱ्यो कडाई

विदेशी नागरिकमाथि जापानले गऱ्यो कडाई


■ श्याम क्षेत्री, टोकियो (जापान)

जापानले विदेशी नागरिकमाथि कडाई गर्ने क्रममा एकैवर्ष ८ सय ३२ जनाको भिषा रद्द गरिदिएको छ । यसरी भिषा रद्द गरेर आफ्नो देश फर्काइएकामा आधाभन्दा बढि विद्यार्थी परेका र त्यसमध्ये ६२ जना नेपाली यस्तो कारवाहीको शिकार बनेका छन् ।

जापानी समाचार संस्था एनएचके टेलिभिजनका अनुसार जापानको अध्यागमन विभागले सन् २०१८ मा ८३२ जना विदेशीको भिषा रद्ध गरेको तथ्याङ्क मंगलबार (३ भदौ) सार्वजनिक गरेको छ ।

अध्यागमन विभागले प्रदान गरेको स्टाटस ‘अनुमति’ भन्दा फरक क्रियाकलापहरू गरेको भन्दै गत वर्ष ८३२ जनाको भिषा रद्ध गरिएको जापानको कानुन मन्त्रालयलाई उद्धृत गर्दै यहाँको माईनिचि सिनबुनले समाचार लेखेको छ ।

मन्त्रालयका अनुसार जापानले नियमविपरीत काम तथा रोक लगाइएका अन्य क्रियाकलाप गर्नेलाई भिषा रद्द गरेर उनिहरुको देश फर्काउने नीति सन् २००५ बाट अवलम्बन गरेको थियो ।

अध्यागमन ब्यूरोले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भिषा रद्द भएर फर्काइएकामा विद्यार्थीहरुको संख्या ४ सय १२ रहेको छ । सन् २०१७ मा यस्तो संख्या केवल २ सय ४० रहेको थियो ।

यसैगरी प्राविधिक प्रशिक्षणमा आएका मध्ये १ सय ५३ जना समेत फर्काइएका छन् । अघिल्लो वर्ष यो संख्या १४५ रहेको थियो ।

जापानी महिला वा पुरुषसँग विवाह गरेर बस्दै आएकामध्ये पनि ८० जना विदेशी उनिहरुकै देश फर्काइएका छन् । यसरी फर्काइएकामध्ये अधिकांशले जापानमा बस्नकै लागि नक्कली विवाह गरेको पाइएको जापानी अधिकारीहरुलाई उदृत गर्दै समाचार संस्था जापान टाईम्सले उल्लेख गरेको छ ।

यसरी फर्काइएकामध्ये केहीको भने जापानी श्रीमती वा जापानी श्रीमानबाट सन्तानसमेत भइसकेको बताइएको छ ।

यसैगरि विद्यार्थी तथा अन्य प्रयोजनका लागि जापान आएर काम गर्ने अनुमति लिएकामध्ये पनि ६९ जनाको भिषा रद्ध गरेर उनिहरुको देश फर्काइदिएको जापानी अधिकारीहरुले बताएका छन् ।

गत वर्ष भिषा रद्द गरेर फर्काइएकाहरुमा विद्यालय छोडेर भागेका, प्राविधिक प्रशिक्षणमा आएर पनि प्रशिक्षणमा नगई पार्ट टाईम काम गर्ने गरेको र अध्यागमनले स्वीकृत दिएकोभन्दा फरक काम गरेको तथा गलत प्रयोजनको लागि नक्कली विवाह गरेकाहरुको भिषा रद्ध गरिएको अध्यागमन ब्यूरोले जनाएको छ ।

भिषा रद्ध हुनेहरुको संख्या अहिलेसम्मकै उच्च हो । सन २०१६ मा २९४ र सन् २०१७ ३८५ जनाको भिषा रद्ध गरिएकोमा सन् २०१८ मा ८३२ जनाको भिषा रद्ध गरिएको समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा जनाइएअनुसार भियतनामका सबैभन्दा बढी ४१६ जनाको भिषा गत वर्ष रद्ध भएको थियो ।

त्यसैगरी चिनियाँ नागरिक १ सय ५२ जनाको भिषा रद्द गरिँदा नेपाली नागरिक ६२ जनाले गत बर्ष भिषा गुमाएर नेपाल फर्कनुपरेको छ ।

यसरी भिषा गुमाउनेको चौथो नम्वरमा फिलिपिनीहरु रहेका छन् । ४३ जना फिलिपिनोहरुले नियम बिपरित कामकाज गरेको पाइएपछि भिषा रद्ध गरिएको तथ्याङ्क अध्यागमन ब्यूरोले मंगलबार सार्वजनिक गरेको हो ।