क्षेत्राधिकारभित्र नपर्ने भन्दै रविपत्नीको जाहेरी अस्वीकार

क्षेत्राधिकारभित्र नपर्ने भन्दै रविपत्नीको जाहेरी अस्वीकार


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेल भिडियो किर्ते गरेको आरोपमा तीनजनाविरुद्ध जाहेरी लिएर प्रहरीकहाँ पुगे पनि प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

पौडेल प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लविरुद्ध जाहेरी दर्ता गर्न बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । प्रहरीले लामिछानेपत्नी पौडेललाई यो केस आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो ।

पौडेल रविका दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाईंका साथ प्रहरी परिसर पुगेकी थिइन् । उनीहरूको त्यहाँ प्रहरीसँग करिब आधा घन्टा छलफल भएको थियो । छलफलमा प्रहरीले यो विषयको छिनोफानो अदालतको भएको बताएको थियो । तर, लामिछानेपत्नी पौडेलले भने प्रहरीले उजुरी दर्ता गर्न नमानेको बताइन् ।