प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट


काठमाडौंमा हुने दुई दिवसीय नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

बुधबार दिउँसो १२ बजे नेपाल आइपुगेका जयशंकरले दिउँसो दुई बजे करिब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् । करिब १० मिनेट भएको उक्त भेटमा दुईपक्षीय हित र समझदारीका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकर आजै (बुधबार) केहीबेरमा शुरु हुने परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सामेल हुनेछन् । बैठक आज बुधबार र भोलि बिहीबार काठमाडौंमा हुँदै छ ।

बैठकले नेपाल र भारतबीच यसअघि प्रधानमन्त्रीस्तरीय भ्रमणका बेला राजनीति, सीमासुरक्षा, उद्योग–व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा, संस्कृति, पर्यटनलगायतका विषयमा भएका समझदारीलाई गतिशीलता दिइने बताइएको छ ।