दलित छात्रालाई साइकल वितरण

दलित छात्रालाई साइकल वितरण


उच्च शिक्षातर्फ आकर्षित गर्नका लागि गौशाला नगरपालिकाले ५३ दलित छात्रालाई साइकल वितरण गरेको छ ।

त्रिभुवन माविको प्रांगणमा बुधबार आयोजित एक समारोहमा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका छात्रालाई एक–एक थानका दरले साइकल वितरण गरिएको हो ।

मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत यहाँका दलित छात्रालाई साइकल वितरण गरिएको नगरप्रमुख शिवनाथ महतोले बताए । अगामी दिनमा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीलाई लक्षित गर्दै आकर्षण प्याकेज ल्याउने तयारी गरिएको पनि उनले बताए ।

आर्थिक वर्ष ०७५–७६ को योजना कार्यक्रमअन्तर्गत सो छात्रवृत्ति कार्यक्रम राखिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर खड्काले बताए । छात्रवृत्ति पाउनेमा नगरपालिकाको नौवटा सामुदायिक विद्यालयका ५३ छात्रा रहेका छन् ।