नेपाल भारतसँग ५–० ले स्तब्ध

नेपाल भारतसँग ५–० ले स्तब्ध


भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग फराकिलो गोलअन्तरले पराजित भएको छ ।

कल्याणी रंगशालामा बुधबार भएको खेलमा भारतसँग नेपाल ५–० को गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल गरेको थियो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३औँ मिनेटमा एक गोल थपे । त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९औँ मिनेटमा गोल गरे भने श्रीदर्थले खेलको ५६औँ मिनेटमा प्रतियोगिताको अन्तिम गोल गरे ।

नेपालले हालसम्म यू–१५ साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । राउन्डरोबिनको आधारमा सञ्चालन भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

नेपालले अब यही भदौ ६ गते श्रीलंकासँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल भदौ १० गते बंगलादेशसँग खेल्नेछ भने अन्तिम खेल भदौ १२ गते भुटानसँग खेल्नेछ ।