जातीय विभेद कायम रहेको गुनासो

जातीय विभेद कायम रहेको गुनासो


नेपाल जनविकास समाजसेवा सङ्घले हरेक वर्ष भदौ १ गते मनाउँदै आएको मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस यस वर्ष पनि भव्यताका साथ आयोजना गरेको छ । एक बृहत् गोष्ठीका साथ सङ्घले ५७औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस सम्पन्न गरेको हो ।

संस्कृतिविद् डा. जगमान गुरुङ प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका पुराना नेता देवेन्द्रलाल नेपाली, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, रत्नकमल वैध, दीर्घराज प्रसाईं, राधेश्याम थापा, विश्वमणि शर्मा, योगी नरहरिनाथ ट्रस्टका अध्यक्ष शंकर पौडेल, नीरा रञ्जितलगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले राजा महेन्द्रले साढे पाँच दशकअघि नै सामाजिक सुधारको नीति अघि सार्दै जातीय विभेद अन्त्य गर्ने कदम चालेका भए पनि हालको गणतान्त्रिक व्यवस्थामा समेत जातीय विभेद कायम रहनु विडम्बनाको विषय भएको बताए ।

डा. जगमान गुरुङले शासन सत्तामा बाहुनवाद हाबी भएकोले दलित–उत्पीडित वर्ग शोषण र विभेदको सिकार भइरहेको औँल्याए । सामाजिक एकता र सद्भाव खल्बलिनुमा कथित उच्च वर्गको हालीमुहाली र सामन्ती प्रवृत्ति अवलम्बनले भूमिका निर्वाह गरेको भन्दै बोलीमा मात्र नभई व्यवहारमै सामाजिक सद्भाव झल्किनुपर्ने तर्क गरे ।
यस्तै, देवेन्द्रलाल नेपालीले राजसंस्थालाई उपेक्षा गर्दा देश नै नरहने परिस्थिति निर्माण भइरहेको बताए भने डा. सुरेन्द्र केसीले लोकतन्त्रमा जातीय भेदभाव दुःखद विषय बनेको भन्दै शाहवंशीय राजाले निर्माण गरेको मुलुकमा राजसंस्थालाई नै पाखा लगाउनु राष्ट्र र राष्ट्रियताको सम्बद्र्धनको कोणबाट अनुचित रहेको तर्क गरे । विश्वमणि शर्माले चाहिँ हाम्रा कुनै धर्मशास्त्रमा जातपात तथा विभेद र छुवाछुतको कुरा कतै उल्लेख नभएको जानकारी गराए ।

आयोजक संस्थाका कोषाध्यक्ष शान्ता विश्वकर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सभापतित्व नेपाल जनविकास समाजसेवा सङ्घका अध्यक्ष सुभद्रा विश्वकर्माले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विश्वकर्माले जातीय भेदभावविरुद्ध मुलुकी ऐन जारी गरेर राजा महेन्द्रले क्रान्तिकारी कदम चालेको दाबी गरिन् । जातीय विभेदले सामाजिक सद्भाव र एकता खलबल्याइरहेको उल्लेख गर्दै राजा महेन्द्रले चालेको कदम प्रगतिशील रहेको तर अहिलेका शासकहरूले यसलाई व्यवहारमा लागू गर्न नसकेको आरोप लगाइन् । जातीय विभेद निमिट्यान्न नभएसम्म देशमा शान्ति र समृद्धि हासिल हुन नसक्ने भन्दै सबै नेपाली मिलेर अघि बढ्नुपर्ने धारणा राखिन् । राजसंस्थालाई मियो बनाएर नेपाली एक ठाउँमा उभिनुपर्ने र राजनीतिमा मात्र नभई विकास, प्रगति एवम् समाज सुधारका काममा समेत स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनले बताइन् ।