नेकपाका नेताहरू सबै आफ्नै पक्षमा

नेकपाका नेताहरू सबै आफ्नै पक्षमा


राजनीतिमा कोही कसैको कसैसँग मित्रता हुँदैन र उपयोगिताका आधारमा मात्र सम्बन्ध बन्ने या बिग्रने गर्छ भन्ने उदाहरण नेकपा नेताहरूले फेरि एकपटक प्रस्तुत गरेका छन् ।

नेकपाको एकीकरणपछि उक्त दलको उच्च तहमा जुन स्तरको उतारचढाव र अस्थिरताको स्थिति देखिएको छ, त्यसले पार्टी एकताको स्थायित्वमा आशङ्का पैदा गराएको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई दुई अध्यक्षात्मक प्रणालीमा लैजान सहमत हुँदा धेरैलाई आश्चर्यचकित पारेको थियो, दुई अध्यक्ष भनिए पनि अर्का अध्यक्ष प्रचण्डलाई अहिलेसम्म कुनै पनि बैठकको अध्यक्षता गर्न नदिएर पनि केपीले चकित पारिदिएका छन् ।

गत साता (शुक्रबार) निर्धारित नेकपा सचिवालयको बैठक प्रधानमन्त्रीनिवासमै आयोजना गरिएको भए पनि आफू अस्वस्थ भएकोले बैठकमा सहभागिता जनाउन असमर्थ रहेको खबर केपीले पठाए, तर प्रचण्डको अध्यक्षतामा बैठक शुरु गर्ने अनुमति उनले दिएनन् ।

गत असार महिनामा केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउँदै अन्ततः प्रधानमन्त्री र पार्टी अध्यक्षबाट समेत बिदाइ गर्ने गुप्त योजनामा रहेका प्रचण्ड असफल भएपछि उनी करिब एक्ला देखिएका थिए । त्यसको डेढ महिना नबित्दै अहिले केपी र प्रचण्ड मिलेजस्तो अवस्थामा छन्, तर पार्टीको आन्तरिक शक्ति सन्तुलनमा निर्णायक मानिने माधवकुमार नेपालचाहिँ नराम्रोसँग एक्ल्याइएका छन् । केपी र प्रचण्डबीचको सहमतिका आधारमा माधव नेपालको हैसियत तल खसालिएको छ ।

वरीयताक्रममा झलनाथभन्दा माथि रहेका नेपाल अब तल परेका छन् । उपेक्षित रहेका वामदेव गौतम रातारात चम्किएर उपाध्यक्ष पदसहित माथि आइपुगेका छन् । माधवको पक्षमा सहानुभूतिसम्म प्रकट गरिदिने काम प्रवक्ता नारायणकाजी श्रेष्ठबाट भएको भए पनि सचिवालयका अरू कुनै पनि नेताले माधव नेपाललाई ‘हाय’सम्म भनेनन् । कुखुराझैँ माधव नेपाल भुत्ल्याइए, सबै नेताहरू त्यसको साक्षी बने । केही दिनअघिसम्म प्रधानमन्त्री केपी र प्रचण्डसँग कडा बार्गेनिङ गर्न सक्ने हैसियतमा रहेका माधव नेपाल अब आफ्नो रक्षाका निम्ति गुहार माग्नुपर्ने स्थितिमा पुगेका छन् ।

केपीका विरुद्ध सधैँ कान भर्ने र पार्टीमा सर्वेसर्वा बन्न उचालिरहने योगेश भट्टराई केपीको मन्त्रिमण्डलमा सामेल हुन गएपछि माधव नेपालको ओरालो यात्रा शुरु भएको थियो । अब मर्यादाक्रममा समेत पछाडि पारिएपछि तत्काल केपीविरुद्ध केही पनि गर्न सक्ने स्थितिमा माधव नेपाल छैनन् । वामदेव गौतम र ईश्वर पोखरेललाई नेता मान्नुपर्ने या प्रचण्डसमक्ष शरणागत हुनुपर्ने अवस्थामा पुऱ्याइएका माधव नेपालको राजनीतिक सङ्कट तत्काल मोचन हुने स्तरको छैन ।

यसअघि माधवलाई आफूसँग मिलेर काम गर्न केपीले पटकपटक आग्रह गरेका थिए । यस्तो आग्रहलाई माधवले केपीको कमजोरीका रूपमा बुझे र, यसबीचमा आफूले ‘भनेजस्तो नभए समानान्तर कमिटी बनाइदिने’सम्मको धम्की दिन थालेका थिए । माधवको शैली र व्यवहारबाट हैरान भएका केपीले अन्ततः अर्कै खेल शुरु गरे । झलनाथ खनाल आफू मर्यादाक्रममा माधव नेपालभन्दा माथि रहनुपर्ने ठान्थे, केपी उनको इच्छा पूरा गरिदिन तयार भए । वामदेव गौतम पदीय हैसियत नपाएर तड्पिएका थिए, उनलाई पनि उपाध्यक्ष, सङ्गठन विभाग प्रमुख र कास्कीबाट चुनाव जिताइदिने विश्वास दिलाएर केपीले आफ्नो मोर्चामा सामेल गरिदिए ।

उता प्रचण्ड पनि माधव नेपालका कारण केपीलाई हटाउने योजना असफल भएको ठान्थे र, नेपालसँग असन्तुष्ट थिए । अर्कोतिर प्रचण्डले चाहेकै एमाले कित्तामा गहिरो विभाजन हो । केपीमार्फत माधवलाई तह लगाउँदै एकातिर आफू ‘पानीमाथिको ओभानो’ बन्न पाइने र अर्कोतिर माधव अन्ततः आफ्नो ‘शरणमा’ पर्ने ठम्याइ प्रचण्डको छ । केपीसँग मिलेको अभिनय गर्दै आफ्नोअनुकूल परिस्थिति निर्माण गर्न प्रचण्ड यतिबेला लागिपरेका छन् । प्रचण्ड मात्र नभई वामदेव गौतम र झलनाथ खनालले पनि त्यसै गरेका हुन् । यही कला प्रयोग गर्न नजान्दा माधवकुमार नेपाल सम्भवतः आफ्नो राजनीतिक जीवनकै सर्वाधिक प्रतिकूल अवस्थामा पुगेका छन् ।

केपीका विरुद्ध सधैँ कान भर्ने र पार्टीमा सर्वेसर्वा बन्न उचालिरहने योगेश भट्टराई केपीको मन्त्रिमण्डलमा सामेल हुन गएपछि माधव नेपालको ओरालो यात्रा शुरु भएको थियो । अब मर्यादाक्रममा समेत पछाडि पारिएपछि तत्काल केपीविरुद्ध केही पनि गर्न सक्ने स्थितिमा माधव नेपाल छैनन् । वामदेव गौतम र ईश्वर पोखरेललाई नेता मान्नुपर्ने या प्रचण्डसमक्ष शरणागत हुनुपर्ने अवस्थामा पुऱ्याइएका माधव नेपालको राजनीतिक सङ्कट तत्काल मोचन हुने स्तरको छैन ।

नेकपाको पछिल्लो निर्णयले माधव एकजनाबाहेक सबै नेताहरूलाई कुनै न कुनै रूपले धेरथोर खुसी तुल्याएको छ । तर, केपीको पक्षमा बनेको यो अनुकूलता कहिलेसम्म कायम रहने हो सो भने अनिश्चित छ । जे भए पनि नेकपाका नेताहरूले दर्शाएको व्यवहारले उनीहरू कसैको पनि परस्पर मित्रता नरहेको, यदि मित्रता छ भने त्यो केवल आफैँसँग मात्र भएको पुष्टि गरिदिएको छ ।