महानायक अमिताभको गम्भीर खुलासा

महानायक अमिताभको गम्भीर खुलासा


करोडौँ दर्शकद्वारा रुचाइएको ‘कौन बनेगा करोडपति’को नयाँ सिजन सोमबार (१९ अगस्त)देखि सुरु भएको छ । ‘कौन बनेगा करोडपति’को नयाँ सिजनको सुरुवातसँगै त्यस कार्यक्रमका प्रस्तोता तथा बलिउडका महानायक अमिताभ बच्चनको चर्चा पनि चुलिएको छ ।

यतिबेला अमिताभलाई कौन बनेका करोडपतिको नयाँ सिजनको पुनर्आरम्भले भन्दा पनि उनको स्वास्थ्यावस्थाले चर्चामा ल्याएको हो । कौन बनेका करोडपतिको नयाँ सिजनको आरम्भ गर्ने क्रममा अभिताभले आफ्नो स्वास्थ्यसम्बन्धी विशेष खुलासा गरेपछि फरक कोणबाट उनको चर्चा चुलिएको हो । कार्यक्रममा अमिताभले यतिबेला आफू आफ्नै स्वास्थ्यसँग गम्भीर सङ्घर्ष गरिरहेको खुलासा गरेका थिए ।

त्यसो त हरदम फिट र एक्टिभ देखिने अमिताभ कौन बनेगा करोडपतिको नयाँ सिजनमा पनि निकै फूर्तिलो साथ प्रस्तुत भएका थिए । निकै स्वस्थ देखिएका अमिताभले कार्यक्रममा आफ्नो लिवरको ७५ प्रतिसत भाग खराब भइसकेको, केवल २५ प्रतिसत लिवरको साहाराले बाँचिरहेको बताउँदा दर्शक स्तब्ध भएका थिए ।

७६ वर्षीय अमिताभले आफूलाई ट्युबरक्लोसिस र अन्य थुप्रै रोगले समस्याग्रस्त तुल्याएको जानकारी दिए । तर, रोगहरूको सयममै पहिचान भएकोले उपचार सम्भव भएको र आफूले नियमित रूपमा परीक्षण गराइरहेको भन्दै शुभचिन्तकहरूलाई आश्वस्त पार्ने प्रयास गरे । रोगलाई आफूमाथि हाबी हुन नदिन फिटनेस र खानपानमा विशेष ध्यान दिएको उनको भनाई थियो ।

७६ वर्षे बुजुर्ग उमेरमा पनि बलिउडमा निरन्तर रूपमा कार्य गर्दै आएका अमिताभको ‘ब्रह्मास्त्र’ फिल्म छिट्टै रिलिज हुँदैछ । त्यस्तै, अहिले उनी ‘गुलाबो सिताबो’ र ‘सई रा नरसिंहा’ नामक फिल्मको सुटिङमा ब्यस्त छन् । ‘कौन बनेगा करोडपति’को नयाँ सिजनको सुटिङ समापनसँगै अभिताभ ती फिल्मको सुटिङमा जुटेका हुन् ।