प्रदेश ५ का एघार जिल्लामा सिसिटिभी जडान

प्रदेश ५ का एघार जिल्लामा सिसिटिभी जडान


  • श्याम क्षेत्री, बुटवल

प्रदेश ५ को ११ जिल्लामा सिसिटिभी जडान गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश ५ रोल्पा बाहेक ११ जिल्लामा सिसिटिभी जडान गरिएको हो ।

उक्त सिसिटिभी कन्ट्रोलरुमको सोमबार एक कार्यक्रमबीच प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा उदघाटन गर्नुभयो ।

मन्त्रालयले विनियोजित गरेको तीन करोडमध्ये दुई करोड ६० लाख सिसिटिभी जडानका लागि खर्च भएको र बाँकी ४० लाख रुपैया मन्त्रालयमा नै फिर्ता पठाइएको जानकारी दिइएको छ ।

११ जिल्लामा १ सय ४० वटा सिसिटिभी जडान गर्नुपर्नेमा हालसम्म १ सय ५ वटा मात्र जडान भएको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताउनुभयो । प्रदेशका अझै ४५ स्थान संवेदनशील क्षेत्र मानिएकाले यसैवर्ष ती स्थानमा सिसिटिभी जडान गर्नुपर्ने समेत प्रहरी उपरिक्षक लुईंटेलले बताउनुभयो ।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ट्राफिक व्यवस्थापनसँगै सुरक्षाका दृष्टिले समेत सिसिटिभी उपलब्धिमूलक भएको बताउनु हुँदै सोको अनुगमन र मर्मतसम्भारमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले ट्राफिक व्यबस्थापन गर्न असहज हुने स्थान र सवारी चेकजाँच गर्ने प्वाईन्टमा सिसिटिभी जडान गर्नुपर्ने बताउँदै सो गर्न सकेमा प्रहरीमाथि लाग्ने आरोपहरुको अन्त्य हुने विश्वास ब्यक्त गर्नुभयो ।