छोराको आसमा १३ सन्तान

छोराको आसमा १३ सन्तान


छोरा जन्माउने आसमा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानलाई जन्म लिएकी छिन् । १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग बिहे गरेकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुरा गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिएको हो । नवौँ सन्तानका रूपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुसी छायो ।

‘समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिएँ, तर समाजकै लागि छोराकै आशामा १३ सन्तानको जन्म दिएकी हुँ,’ उनले भनिन् । अहिले उनी छोराछोरी, नातिनातिना, पनातिपनातिना गरी ७० जनाको अभिभावक बनेकी छिन् । छोराछोरी सबैले उन्नति, प्रगति, विभिन्न पेसा–व्यवसाय गरेको देख्दा र सुन्दा उनी खुसी छन् ।

अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनातिपनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६७ वर्षीया सुमित्रा विक र ७६ वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोराछोरीको नाम पनि सम्झन मुस्किल हुन्छ । अझै त्यसमा ३८ जना नातिनातिनीको नाम कहाँ सम्झन सक्छिन् र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनातिपनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन ।

‘बाह्र छोरा तेह्र नाति, हलो र जुवा बूढाको काँधमाथि’ भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।

सुशीला रेग्मी (रासस)