विद्युत उत्पादन बढ्यो, बढेन खपत

विद्युत उत्पादन बढ्यो, बढेन खपत


  • छविलाल बगाले

नेपालमा विद्युतको उत्पादन बढेपनि खपत भने कम छ । गत बर्ष नेपालमा ६ अर्ब ३८ करोड युनिट मात्रै विद्युत खपत भएको तथ्यांक नेपाल विद्युत प्राधिकरणसँग छ । तर खपत घटेपनि प्राधिकरणको आम्दानीमा भने बृद्धि भएको छ ।

आर्थिक बर्ष २०७५/७६ मा १ अर्ब १७ करोड युनिट विद्युत खपत घटेको छ । प्राधिकरणको प्रणालीमा रहेको कुल ७ अर्ब ५५ करोड युनिट विद्युतमध्ये गत बर्ष ६ अर्ब ३८ करोड युनिट मात्रै विद्युत खपत भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार विगतको तुलनामा विद्युतका ग्राहक थपिएपनि खपत भने कम भएको हो । ‘उपभोक्ताले किफायती चिम प्रयोग गर्ने गरेका कारण विद्युतको माग घटेको छ ।’ कार्यकारी निर्देशक घिसिङले भने, ‘ग्राहकहरुमा भएको चेतना विकासले खपतमा कमी आएको हो ।’ उनका अनुसार आर्थिक बर्ष २०७४/७५ को तुलनामा गत आर्थिक बर्षमा ७ प्रतिशतले विद्युतको उपलब्धता बढेको छ ।

खपत बढाउन विद्युतीकरणलाई प्राथमिकता
प्रणालीमा उपलब्ध विद्युतको खपत बढाउन प्राधिकरणले गतबर्ष मनाङ, सोलुखुम्बु, बझाङ र दार्चुलामा केन्द्रिय प्रसारण लाइनको विद्युत पु¥याएको छ । यस्तै, चालु बर्षमा रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा केन्द्रिय विद्युत सेवा उपलब्ध गराउने योजना रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारील जानकारी दिए । ‘हामीले केन्द्रीय प्रसारण लाइनको विद्युत सबै जिल्लामा पु¥याउने गरी काम गरिरहेका छौं ।’ उनले भने, ‘अब विद्युतमा सबैको पहुँच पु¥याउने छौं ।’

विद्युतको खपत बढाउन मन्त्री पुनको आग्रह
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि उपलब्ध विद्युत खेर जान नदिन विद्युतीय उपकरणको भरपुर प्रयोग गर्न अनुरोध गरेको छ । उर्जामन्त्री बर्षमान पुनले पनि ग्याँस, पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनका लागि विद्युतीय उपकरणको प्रयोग गर्न अनुरोध गरेका छन् । ‘विगतका बर्षहरुमा ग्याँस, इन्धनको आयात बढि भएपनि एक बर्षयता विद्युतको सहजताले त्यस्ता वस्तुको आयातमा गिरावट आएको छ ।’ मन्त्री पुन भन्छन्, ‘हामी मुलुकभित्र विद्युतको उत्पादन र खपत दुबै बढाएर आयातलाई शून्यमा झार्न चहान्छौं ।’ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युतीकरणलाई जोड दिनुपर्ने र विद्युतको उपभोग बढाउनुपर्नेमा जोड दिएका छन् ।

नाफा बढाउँदै, संचिती नोक्सानी र चुहावट घटाउँदै
कुनैबेला घाटामा रहेको प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा रु सात अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ । प्राधिकरणले आर्थिक बर्ष २०७३/७४ मा रु एक अर्व ५१ करोड, २०७४/७५ मा रु दुई अर्ब ८९ करोड खुद नाफा गरेको थियो । यस्तै चालु आर्थिक बर्षमा प्राधिकरणले ८ अर्ब ५० करोड नाफा कमाउने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न चुहावट नियन्त्रण, विद्युत् खपतमा वृद्धि गराउनुपर्नेमा प्रवक्ता अधिकारी जोड दिन्न् ।

उता, आर्थिक वर्ष २०७२/७३ मा सञ्चित घाटा रु ३४ अर्ब ६० करोड रहेको नेपाल विद्युत् प्राधिकरणले आव २०७५/७६ मा आइपुग्दा त्यसलाई घटाएर रु १५ अर्ब २२ करोडमा सीमित गरेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । यस्तै, प्राधिकरणले पछिल्लो तीन वर्षमा विद्युत् चुहावटलाई १० प्रतिशतभन्दा बढीले घटाएर १५.३२ प्रतिशतमा सीमित गरेको छ ।

सरकारलाई प्राधिकरणले बुझायो साढे १५ अर्ब
गत आर्थिक वर्ष २०७५/७६ विभिन्न शिर्षकमा प्राधिकरणले सरकारलाई साढे १५ अर्ब रुपैयाँ बुझाएको छ । सरकारबाट सहुलियतदरमा ऋण लिएको १ अर्ब रुपैयाँ सावा सरकारलाई बुझाएको हो । प्राधिकरणले सरकारसँग लिएको सहुलियत ऋणको ब्याजबापतको १३ अर्ब १६ करोड रुपैयाँ सरकारले बुझेको छ । यस्तै, रोयल्टीको बापतको रकममात्रै १ अर्ब ४४ करोड रुपैयाँ प्राधिकरणले तिरेको छ । जलविद्युत बिक्रीबाट आर्जन गरेको रकमको रोयल्टी प्राधिकरणले तिरेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

हाल नेपालमा ३९ लाख १० हजार केन्द्रीय विद्युतका प्रयोगकर्ता छन् । हालसम्म कुल जनसंख्याको ७८ प्रतिशतले विद्युतको उपभोग गरेको प्राधिकरणको दावी छ ।