व्यवसायी सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

व्यवसायी सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज


नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ । प्रचण्डनिकटका व्यवसायी भनेर चिनिएका अजय सुमार्गीको कम्पनी हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिएका हुन् ।

भदौ १ गतेसम्ममा प्राधिकरणलाई पहिलो किस्तामा रु सात करोड बक्यौता रकम बुझाउन भनिएकोमा उक्त अवधिमा हेलो नेपालले पहिलो किस्ताको रकम नबुझाएपछि अनुमति पत्र खारेज गरिएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणलाई हेलो नेपालले करिब रु ७९ करोड ९२ लाख बुझाउन बाँकी रहेको बताइन्छ । प्राधिकरणको गत साउन १७ गतेको बोर्ड बैठकले हेलो नेपाललाई भदौ १ गतेसम्म रु सात करोड र त्यसपछि तीन महीनाभित्र बक्यौता सबै रकम बुझाउन निर्देशन दिएको थियो ।

हेलो नेपालले प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णयमा चित्त नबुझेमा दूरसञ्चार ऐन बमोजिम ३५ दिनभित्र उजुरी दिन सक्ने व्यवस्था छ । त्यसरी परेको उजुरीमा सरकारबाट भएका निर्णय नै अन्तिम हुने व्यवस्था छ । हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिँदै आएको थियो ।