नेप्से सात अंकले वृद्धि

नेप्से सात अंकले वृद्धि


धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोबार मापक नेप्से परिसूचक सोमबार भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २ सय २२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेन । आज कुल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता सेयर रु. ३८ करोड ९६ लाख २५ हजारमा खरिद–बिक्री भए । स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये आज निर्जीवन बिमाको सेयर कारोबार ओरालो लागेको छ । सो उपसमूहको सेयर २९.७८ बिन्दुले घट्दा बैंकिङ ७.३३, होटेल ४.७४, विकास बैंक १३.४३, जलविद्युत १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, जीवनबिमा ४४.३२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. दुई करोड ५८ लाख ३१ हजार ४२८ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै रसुवागढी जलविद्युत् आयोजना रु. दुई करोड १५ लाख १६ हजार, एनआईसी एसिया रु. एक करोड ७१ लाख ९० हजार, सोल्टी होटेल रु. एक करोड ६७ लाख ३४ हजार, कृषि विकास बैंक रु. एक करोड ६६ लाख ६४ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर रु. एक करोड ४६ लाख ९८ हजारमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ७.५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६.४७, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था ६.१६, एक्सेल डेभलपमेन्ट बैंक ५.०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५.०३ प्रतिशतले कमाएका छन् । सानिमा इक्विटी फन्ड ३.५७, जोशी हाइड्रोपावर २.८९, युनाइटेड इन्स्योरेन्स २.५६, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स २.५२, बरुण हाइड्रोपावर २.२२ र चिलिमे जलविद्युत कम्पनीका सेयरधनीले १.९६ प्रतिशतले गुमाए ।