साउदी अरबबाट लगानी भित्र्याउने पहल

साउदी अरबबाट लगानी भित्र्याउने पहल


नेपालको आर्थिक समृद्धिका लागि साउदी अरबबाट लगानी भित्र्याउने पहलस्वरुप नेपाल चेम्बर अफ कमर्सले साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग छलफल गरेको छ ।

चेम्बरको सचिवालय जमलमा आइतबार भएको छलफलमा दुई देशबीच व्यापारिक, आर्थिक एवम् लगानीको सम्बन्ध, विकास एवम् सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवसायीबीचमा द्विपक्षीय व्यापार एवम् आर्थिक सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरको सम्भावना पहिचान गर्नुपर्ने विषय समेटिएको चेम्बरले जानकारी दिएको छ ।

साउदी अरबका लागि नेपाली राजदूत सिंहले नेपाल पर्यटन वर्ष सन् २०२० सफल पार्न साउदी नागरिकका लागि प्रचारप्रसार पर्याप्त रुपमा गर्नुपर्ने तर्क गर्दै नेपालबाट व्यापारिक प्रतिनिधि मण्डलले साउदी अरबको भ्रमण गर्ने र ‘बिटुबी’ बैठक आयोजना दूतावासको पहलमा गर्न आफू तयार रहेको बताए ।

सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरबबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

यसैबीच चेम्बर अफ कमर्शको सचिवालयमा भारतका लागि नेपाली दूतावासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग चेम्बर अध्यक्ष श्रेष्ठले छुट्टै भेट गरेका छन् । सो भेटमा अध्यक्ष श्रेष्ठले नेपालको भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रवर्द्धन सँगसँगै जानुपर्ने स्थिति रहेको बताइन् ।

अध्यक्ष श्रेष्ठले विगत केही वर्षदेखि भारतमा व्यापार–उद्योग उल्लेखनीय रूपमा बढेकाले त्यसको फाइदा हामीले लिन कुन मोडालिटी तयार गर्ने त्यसबारेमा भारतीय पक्षसँग छलफल गरिदिन आग्रह गरेका थिए ।

भेटमा भारतका लागि नेपाली राजदूतावासका मिनिस्टर (इकोनोमिक) पोखरेलले नेपाली उद्योग÷व्यवसायको सहजीकरणको लागि आफू प्रयत्नशीन रहने र निजी क्षेत्रसँगको सहकार्य आवश्यक एंव अनिवार्य रहेको हुँदा निजी क्षेत्रबाट समस्या एवम् सुझावसहितको अपेक्षा रहेको बताइन् ।