२८ वाणिज्य बैंकले कमाए ६५ अर्ब नाफा

२८ वाणिज्य बैंकले कमाए ६५ अर्ब नाफा


एक वर्षको अवधिमा २८ वाणिज्य बैंकहरुले करिब ६५ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन् । जुन अघिल्लो वर्ष भन्दा २५ प्रतिशतले बढी हो । नियामक निकायको कमजोर भूमिका रहनु र बैंकहरुले त्यसको फाइदा लिन सक्दा नाफामा उच्च वृद्धि भएको अर्थ्विद् बताउँछन् ।

बैंक तथा वित्तीय क्षेत्रमा ३ वर्षदेखि लगानीयोग्य रकमको अभाव छ । बजारमा निक्षेप संकलन कम हुनु र कर्जाको माग उच्च हुँदा बैंकमा लगानीयोग्य रकमको अभाव भएको बैंकर्सहरु बताउँछन् । आर्थिक वर्ष २०७५÷०७६ मा पनि वित्तीय प्रणालीमा तरलता अभाव अत्याधिक देखिएको थियो ।

तरपनि २८ वाणिज्य बैंकहरुले उक्त वर्षमा कुल ६४ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा बैंकहरुको यस्तो नाफा ५२ अर्ब थियो । यो आधारमा २५ प्रतिशतले नाफा बढेको देखिन्छ । गत वर्ष सबैभन्दा बढी नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नविल बैंक रहेको छ ।

नेपाल राष्ट्र बैंकको फितलो नीतिको फाइदा उठाएर यतिधेरै नाफा गरेको अर्थविद् बताउँछन् । व्याजदर फरक (स्प्रेडदर)मा बैंकहरुले पालना नगर्दा नाफा बढेको छ । त्यस्तै निक्षेपमा ब्याजदरको सिमा तोक्ने र कर्जामा अधिक ब्याजदर लिने बैंकहरुको प्रवृतिले नाफामा उच्च वृद्धि भएको अर्थविदको तर्क छ ।

बाणिज्य बैंकहरुमध्ये सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ प्रतिशतले नाफा घटेको छ । तर २८ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा कमाउने बैंक सिभिल बैंक रहेका छन् ।