स्वतन्त्रता दिवसको अवसरमा विश्व विख्यात बाँसुरीवादकको प्रस्तुति

स्वतन्त्रता दिवसको अवसरमा विश्व विख्यात बाँसुरीवादकको प्रस्तुति


मित्रराष्ट्र भारतको ७३औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौंस्थित भारतीय राजदूतावासले आज (०७६ श्रावण ३०) भद्रकालीस्थित सैनिक सभामण्डवमा विश्व विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रमको आयोजना गऱ्यो । उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिका रुपमा उपस्थित थिए ।

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थीलगायत विभिन्न क्षेत्रका झण्डै सात सयभन्दा बढी व्यक्ति–व्यक्तित्वको सो कार्यक्रमा उपस्थिति थियो ।

कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देवोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए ।

ज्ञातव्य छ, पण्डित चौरसिया सांगीतिक क्षेत्रका विश्वप्रख्यात व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको अनुभूति उपस्थित सबैले गरे । उनले आधुनिक तथा शास्त्रीय बाँसुरी बादनको आफ्नो दैवीय क्षमताद्वारा समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए, जसको प्रस्तुतिलाई काठमाडौंले लामो समयसम्म सम्झीरहने अनुभूति गराएको छ ।