प्रधानमन्त्री ओलीले भने- ‘म बिरामी छैन, अझै २०-२५ वर्ष केही हुँदैन’

प्रधानमन्त्री ओलीले भने- ‘म बिरामी छैन, अझै २०-२५ वर्ष केही हुँदैन’


प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको र आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नगर्न बताएका छन् । शुक्रबार बिहान आफूलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका झापा क्षेत्र नं. ५ का अगुवा कार्यकर्ता तथा प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न आएका अगुवा कार्यकर्ता तथा प्रतिनिधिलाई हेर्दै ओलीले सोधे, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?’ आफूलाई भेट्न बालुवाटार आएकाहरूलाई कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे हिजो चलाइएका हल्ला निराधार भएको बताएका छन् । उनले भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । तर, हल्ला म सिकिस्त भएजस्तै गरी फैलाइयो ।’

आफ्नो स्वास्थ्यबारे चासो राख्ने शुभचिन्तकहरूसँग प्रधानमनत्री ओलीले भने, ‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यसकारण म बिरामी होइन ।’

प्रधानमन्त्री ओलीले १५ वर्षअघिको घटना स्मरण गर्दै भने, ‘म अहिले होइन, १५ वर्षअघि बिरामी भएको थिएँ । १२ वर्षअघि मिर्गौला नै प्रत्यारोपण गरेको हुँ ।’ उनले अगाडि भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरेँ ।’