१२ सयले बढेपछि सुन तोलाको ७१ हजार पाँच सय

१२ सयले बढेपछि सुन तोलाको ७१ हजार पाँच सय


लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा बिहीबार एकैदिन प्रतितोला एक हजार २ सय रुपैयाँले वृद्धि भएको छ ।

बुधबार छापावाला सुन रु. ७० हजार ३ सयमा कारोबार भएकोमा बिहीबार प्रतितोला रु. ७१ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु. एक हजार २ सयले नै बढेको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु. ७१ हजार २ सयमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु. ७० हजारमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु. २० ले वृद्धि भएर रु. ८४० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।

चीन–अमेरिका व्यापार टकराव तथा अमेरिका–इरानबीच देखिएको विवादका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको बताइएको छ ।