स्वतन्त्रता दिवसको बधाई यसरी किन नदिने !


छिमेकी मित्रराष्ट्र भारत आफ्नो ७३औँ स्वतन्त्रता दिवस मनाउँदै छ । बेलायती उपनिवेशको गुलामको रूपमा दशकौँ झेलेको अत्याचारी शासन, शोषण एवम् लुटमारबाट मुक्ति पाएको ऐतिहासिक दिनको सम्झनामा भारतले स्वतन्त्रता दिवस मनाउँदै आएको छ भने यस वर्षको स्वतन्त्रता दिवस समारोह भारतीय जनताका निम्ति विशेष उल्लासपूर्ण हुँदै छ । संविधानको धारा ३७० खारेज गरेर जम्मु–कस्मिरलाई दिइँदै आएको विशेष तथा अलग स्वायत्त प्रान्तको मान्यता अन्त्य गर्दै केन्द्रमातहत ल्याउने ऐतिहासिक कदमले भारतको राष्ट्रियता, सम्प्रभुता तथा अखण्डताको रक्षा गर्ने भन्दै मोदी सरकारको वाहवाही भइरहेको छ । स्वतन्त्रता दिवसको सङ्घारमै चालिएको उक्त क्रान्तिकारी कदमले भारतका जनतालाई उल्लसित र उत्साहित तुल्याउनु अस्वाभाविक पनि छैन ।

एउटा छिमेकीको सफलता–असफलतासँग अर्को छिमेकीको खुसी या सुख–दुःख गाँसिएको हुन्छ । छिमेकमा अशान्ति, झगडा–झमेला, विद्रोह, विनाश र अवनतिले वास गरेको छ भने जतिसुकै शान्त र उन्नत भए पनि नजिकका छिमेकीलाई त्यसको दुष्प्रभाव पर्छ नै । छिमेकको घर जल्छ भने निकटताको आधारमा अन्य छिमेकीलाई त्यसको राप–तापले छुन्छ । छिमेकी शान्त, सुखी र सन्तुष्ट छ भने त्यसको आसपास सकारात्मकता नै तरङ्गित भइरहेको हुन्छ । अर्थात्, जो–जति निकट रहेको हुन्छ, प्रभाव पनि त्यति नै गाढा रहन्छ । यस अर्थमा सर्वाधिक निकट छिमेकी र मित्रदेश हुनुको नाताले भारतका असल या खराब काम–कदमको प्रभाव नेपालमाथि सोहीअनुसार पर्दछ । नेपालका राम्रा या नराम्रा निर्णय वा कर्मले भारतलाई पनि उत्तिकै असर पार्दछ । भारत सरकारले ठूलो जोखिम मोल्दै गत साता चालेको कदमप्रति नेपालको चासो किन भन्ने प्रश्नको जवाफ पनि यही पेरिफेरिमा खोजिनुपर्छ ।

सबल–समृद्ध भारतको निकट छिमेकी हुनुको लाभ उठाउनका निम्ति पनि नेपाल सरकारले मोदी सरकारको कदमबारे प्रस्ट धारणा अविलम्ब सार्वजनिक गर्नुपर्छ ।

विज्ञहरू औँल्याउँछन्– २१औँ शताब्दी एसियाको हो ! एसियाको उन्नति–समृद्धिको सवालमा चीन, भारतजस्ता नेपालका निकट राष्ट्र नै अग्र स्थानमा रहेको घामजत्तिकै छर्लङ्ग छ भने अबको अढाई–तीन दशकभित्र भारत संसारकै ठूलो अर्थतन्त्र भएको मुलुकका रूपमा स्थापित हुने विश्लेषणले व्यापकता पाइरहेको छ । खुला सीमा तथा सहज आवतजावत, समान रहनसहन, साझा संस्कार–संस्कृति र अझै छिचोलेर भन्नुपर्दा ‘रोटी–बेटी’को सम्बन्धका कारण नेपालसँग भारतको अन्योन्याश्रित एवम् अत्यन्त पुरानो सम्बन्ध रहिआएको छ । वास्तवमै भारत र नेपालबीचको सम्बन्धलाई ‘दुर्लभ’ प्रकृतिको मानिन्छ, यसकारण कि विश्वमा कुनै पनि दुई देशबीच यस्तो प्रकारको सम्बन्ध छैन । सम्बन्धको यो मर्म महसुस गर्दै दुवै मुलुकले आफूलाई अघि बढाइरहेका छन् । सम्बन्धको यस प्रगाढतामा बेला–बेला असहजताको आभास हुनुकोे तात्पर्य पनि एक–अर्काप्रतिको ज्यादा निकटता नै हो । यही मर्म महसुस गर्दै एकले अर्कोलाई स्वीकार गर्दै आएका पनि छन् । टुट्न–फुट्न नसक्ने यो सम्बन्धलाई नयाँ आयाम दिँदै आर्थिक रूपमा प्रगाढ बनाएर लैजानु समयको माग हो ।

दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउनका लागि अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा तर्क–वितर्क गरिरहनैपर्दैन । भारत विश्वकै आर्थिक शक्तिराष्ट्रको रूपमा उदाउँदै गर्दा नेपालले भारतको राम्रो सहयोग पाउन सक्छ, तथापि नेपाल आफैँ पनि आन्तरिक रूपमा मजबुत हुनुपर्ने, लगानीको माहोल सिर्जना गर्नुपर्ने सर्तचाहिँ यहाँनेर उपेक्षा गर्नै मिल्दैन । सवाल त यो मात्र हो कि नेपालको व्यापार घाटा घटाउँदै आर्थिक रूपले उकास्न भारतले के–कस्तो सहयोग उपलब्ध गराउन सक्छ ? अनि, भारतजस्तो निकट र विशाल छिमेकी मित्रदेशबाट सहयोग हासिल गर्न नेपालले आफूलाई कसरी र कति सक्षम साबित गर्न सक्छ ?

वास्तवमा दुवै देश एक–अर्काको समस्या एवम् आकाङ्क्षाप्रति अझ संवेदनशील रहनु यतिबेला अपरिहार्य छ । मोदी सरकारले गत साता चालेको अत्यन्त महत्वपूर्ण एवम् ऐतिहासिक कदमले भारतीय जनतालाई खुसी प्रदान गर्नु आफ्नै ठाउँमा छ, आतङ्क, अशान्ति र अवनतिको कारक बन्दै आएको कस्मिर मामलालाई हल गर्न मोदी सरकारले विवेक र साहसका साथ चालेकोे कदममा नेपालले पनि आफ्नो हित खोज्न सक्नुपर्छ । ठूलो वृक्षको सेपमा परेको साना बोट–बिरुवा फस्टाउन सक्दैन भन्ने मान्यतालाई चिर्ने अक्कल र आँट अब नेपालले प्रस्तुत गर्नैपर्छ । सबल–समृद्ध भारतको निकट छिमेकी हुनुको लाभ उठाउनका निम्ति पनि नेपाल सरकारले मोदी सरकारको कदमबारे प्रस्ट धारणा अविलम्ब सार्वजनिक गर्नुपर्छ । आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छिमेकी मित्रदेशलाई नेपालको तर्फबाट अलभ्य उपहार र अनुपम बधाई पनि यही नै ठहरिनेछ ।

प्रतिक्रिया