‘विन विन’को अवस्था बनाएर अघि बढ्नुपर्छ : राजदूत पुरी

‘विन विन’को अवस्था बनाएर अघि बढ्नुपर्छ : राजदूत पुरी


नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच ‘विन-विन’को अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताएका छन् । राजधानीमा आयोजित ‘नेपाल-भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै राजदूत पूरीले दुई देशबीच विगतमा भएका सन्धि-सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको धारणा राखे ।

भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै उनले दुवै देश मिलेर बढिरहेकोमा खुशी व्यक्त गरे । भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको राजदूत पुरीको धारणा थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै त्यो नेपालका लागि लाभदायक हुने तर्क उनले गरे ।

भारतको कुल ग्राहस्थ उत्पादन पाँच हजार अर्ब पुगेको भन्दै मोदी कार्यकालमा झण्डै दोब्बर प्रगति भएको राजदूतले उल्लेख गरे । भारतले शान्ति, सुरक्षा र स्थिरतालाई महत्वमा राखेर काम गरिरहेको पनि उनले बताए ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुवै देशको लोकतान्त्रिक आन्दोलनमा एक अर्काबाट सहयोग प्राप्त भएको उनले उल्लेख गरे । वीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान पुऱ्याएको चर्चा गर्दै जयप्रकाशनारायण र राममनोहर लोहियालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताएउनले स्मरण गरे । जयप्रकाशनारायण र राममनोहर लोहियालाई नेपालमा गिरफ्तार गरिँदा नेपाली जनताले जेल तोडेर भगाएको इतिहास राजदूत पुरीले सुनाए ।

सोही अन्तरक्रियामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने धारणा राखे । सम्झौता भएको दशकौँसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको उनको तर्क थियो । पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए ।

यस्तै, पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताए । नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको डा. महतको धारणा थियो । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै लगानीका क्षेत्रहरुलाई अझ स्पष्ट पार्नुपर्ने डा. महतको भनाई थियो । सन् १९९६ को वाणिज्य सन्धीले नेपालले उत्पादन निर्यातको वातावरण पाएको उल्लेख गर्दै त्यस्तै अवस्था सृजना गर्नुपर्ने उनले बताए । भारतीय पर्यटक बढीभन्दा बढी भित्राउनेदेखि लगानी वृद्धि गर्न सके नेपालको आर्थिक विकासले गति लिने डा. महतले औंल्याए ।

यसैगरी, पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो । भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको तकै उनले गरे ।