‘काठमाडौंमा दलितलाई डेरा पाउन गाह्रो छ’

‘काठमाडौंमा दलितलाई डेरा पाउन गाह्रो छ’


पार्वती बिसुंके प्रतिनिधिसभामा नेकपाकी सांसद हुनुहुन्छ । दैलेख जिल्लालाई प्रतिनिधित्व गर्ने उहाँले प्रतिनिधिसभामा पटकपटक दैलेखका समस्या उठान गर्दै आउनुभएको छ । सामाजिक अभियन्ताको रूपमा विभेदविरुद्ध लड्दै आउनुभएकी पार्वती सहयोगी र सबैसँग मिल्न सक्ने व्यक्तित्वका रूपमा समेत परिचित हुनुहुन्छ । प्रस्तुत छ सांसद बिसुंकेसँग घटना र विचारले गरेको कुराकानी :

० तपाईंको राजनीतिक पृष्ठभूमि बताइदिनुस् न ?
मेरो हजुरबुवा जुम्लामा जुत्ता व्यापार गर्नुहुन्थ्यो । दैलेखबाट जुत्ता बनाएर जुम्लामा बेच्नुहुन्थ्यो । जुम्लामा बस्दै जाँदा नेपाल मजदुर किसान पार्टीसँग आबद्ध हुनुभएछ । घरमा आएको बेला राजनीतिक कुरा गर्नुहुन्थ्यो । हजुरबुबासँग म गाउँ जान्थेँ, चियापसलमा चिया खान जान्थेँ । उहाँसँग पछिपछि हिँड्दाहिँड्दै मैले राजनीति बुझेँ । ०५३ सालमा ६ कक्षामा पढ्दै गर्दादेखि नै म राजनीतिक कुरा गर्ने भइसकेकी थिएँ । स्कुलदेखि नै विद्यार्थी इकाइ कमिटीमा रहेर काम गरेँ ।

० राजनीतिक परिवारको हुनुहुँदोरहेछ, स्कुल जान गाह्रो त भएन होला नि ?
होइन, मैले स्कुल जान मेरी आमाले ठूलो लडाइँ लड्नुपऱ्यो । हजुरबुबा राजनीतिमा भए पनि उहाँ छोरीलाई पढाउनुचाहिँ हुन्न भन्ने मान्यता राख्नुहुन्थ्यो । दलित परिवारमा सानैमा विवाह गरिदिने चलन छ । हजुरबुबाले चिया खान सँगै बजार लानुभयो, तर स्कुल भने मेरो भाइहरूलाई मात्रै पठाउनुभयो । पछि एकजना फुपूदिदीले यसलाई पढ्न मन छ, पढाइदिनुस् भनेपछि आमाले हजुरबुबा र बुबाको आँखा छलेर स्कुलमा नाम लेखाइदिनुभयो । ती फुपूदिदीले घरमै बसेर पाँच कक्षाको ट्युसन पढ्दै गर्दा म छेउमा बसेर हेरिरहन्थेँ । उहाँले मेरो मनोविज्ञान बुझेर ठूलो मद्दत गर्नुभयो । भाइ तीन कक्षामा पढ्दै गर्दा म शिशुमा भर्ना भएकी थिएँ । पछि राम्रो पढ्न थालेपछि ‘अपग्रेड’ गरियो ।

० सानो छँदाको सम्झना कसरी गर्नुहुन्छ ?
दुःखजिलो गरेर भए पनि चाडबाड रमाइलोसँग मनाउँथ्यौँ । चाडबाडमा हजुरबुबाले बुहारीहरूलाई पनि वरिपरि राखेर तिमीहरूलाई खान मन छ भने खाउ है भनेर ड्रिंक अफर गर्नुहुन्थ्यो । दुःखका बीच पनि खुसी थियौँ । दलित भए पनि सिनो खाँदैनथ्यौँ । सुँगुर पाल्दैनथ्यौँ । मेरो ठूलाबुबाले कार्की क्षेत्रीकी छोरी विवाह गरेर ल्याएपछि सिनो र सुँगुर परिवारबाट बाहिरिएका थिए । हजुरबुबाले बजारमा घर पनि तिनै बुहारीका कारण किन्नुभएको रे, जुन घरमा अहिले हामी छौँ । दलितसँग विवाह गरी भनेर उहाँका माइतीले नहेपुन् भनेर बजारमा घर किनिएको रहेछ । त्यसपछि दलितसँग गएर के भो त बजारमा घर छ भनेर मानिसहरू कुरा गर्थे रे । दलित हुनु र गरिब हुनुबीच कति ठूलो सम्बन्ध छ भनेर मैले सानैदेखि बुझेँ ।

० भनेपछि विभेद मेट्न धनी हुनुपर्छ भनेर लाग्नुभयो ?
होइन, म धनी होइन, राम्रो मान्छे बन्नुपर्छ भनेर लागेँ । सबै मानिसलाई धनी बनाउन सम्भव थिएन, सचेत बनाउनतर्फ लागेँ । सम्पत्ति र दलितलाई हेर्ने दृष्टिकोणबीच सम्बन्ध छ, तर भौतिक सम्पत्ति जोड्नभन्दा पनि मानसिक गरिबी हटाउन जरुरी ठानेर म अभियानतिर लागेँ । केही हदसम्म सफल पनि भएँ, अझै गर्नु धेरै छ ।

० दैलेखका मुख्य समस्या के हुन् ?
मुख्य समस्या त गरिबी र बेरोजगारी नै हो । छुवाछुत, बालविवाह, बहुविवाह, छाउपडीलगायतका सामाजिक समस्या छन् । जनैपूर्णिमामा अहिले पनि दलितले रक्षाबन्धन बाँध्न हुँदैन भन्ने छ । सानोमा गैरदलित साथीहरूले बाँधेको देखेर मलाई रक्षाबन्धन बाँध्न धेरै रहर लाग्थ्यो । तर, दलित भएका कारण बाहुनले बाँधिदिँदैनथे । होटेलमा चिया खाँदा अरूलाई ५ रुपैयाँ लिइन्थ्यो, हामीले भने ४ रुपैयाँमा चिया खान पाउँथ्यौँ । चिया खाएर ४ रुपैयाँ तिरेपछि १ रुपैयाँको चिया खाएको भाँडा माझ्नुपथ्र्यो । अहिले पनि कतिपय होटेलमा दलितले खानेकुरा खाएर आफैँ भाँडा माझ्नुपर्छ ।

० गैरदलितका पनि केही समस्या छन् कि ?
छन् नि । एउटा सांसदका रूपमा मैले अहिले गैरदलित, दलित सबै जनताका समस्यालाई नजिकबाट हेरिरहेकी छु । सबैभन्दा ठूलो कुरा त गरिबी नै हो । दैलेखका धेरै मानिस कामका लागि भारत जान्छन् । फर्किंदा एचआईभी लिएर आएका र परिवारमा सरेका उदाहरणहरू पनि छन् । गाउँघर या देशमै रोजगारी पाएका भए त्यो समस्या हुने थिएन । शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका समस्या छन् । बालविवाह, बहुविवाह, छाउपडीलगायतका समस्या गैरदलितमा पनि त्यत्तिकै छन् ।

० यी कुराहरूको समाधान कसरी गर्ने त ?
एउटा सांसदका रूपमा मैले जनतालाई सहज हुने काम नीति–नियम बनाउनमा आवाज उठाउने हो । जागरुक हुने, सचेत हुने काम त जनता स्वयम्को हो । रोजगारी बढाउने र विकासका कामहरू सरकारले लानुपर्छ । जुन कुराको मैले आवाज उठाउँदै आएकी छु । आफूले सकेका योजनाहरू लाने प्रयास गरेकी छु ।

० तपाईं युवा सांसद हुनुहुन्छ, महिला र दलित पनि हुनुहुन्छ, तपाईं कसको प्रतिनिधि हो ?
म उमेरले युवा, लैङ्गिकताको दृष्टिले महिला, जातजातिमा दलित, तर प्रतिनिधिचाहिँ सबै जनताको बराबरी हुँ । म गैरदलित, दलित, युवा, वृद्धा, बालबालिका, पुरुष, महिला सबैको प्रतिनिधि हुँ । मैले सबैका समस्या र मुद्दालाई समेट्नुपर्छ, सबैलाई समान दृष्टिकोणले हेर्नुपर्छ । हिजो अभियानकर्ता हुँदा पनि मबाट कसैलाई विभेद हुँदैनथ्यो । अहिले जनप्रतिनिधिका रूपमा त झन् विभेद गर्ने कुरै भएन । महिला हुन् या पुरुष पछाडि पारिएका, हेपिएका, दुःख पाएका समुदायप्रति मेरो विशेष सरोकार रहन्छ । मैले सांसदको शपथ खाँदै गर्दा नै मेरो यो पद मेरो लागि नभएर मेरो क्षेत्रका सबै जनातका लागि हो भन्ने अनुभूतिसहितको शपथ खाएकी थिएँ ।

० सांसद हुनु भनेको के रहेछ ?
सांसद हुनु भनेको आवाज नभएका जनताको आवाज बन्नु रहेछ । उत्तरदायित्व बहन गर्नु रहेछ ।

० नेता पहिल्यैदेखि हुनुहुन्थ्यो । नेता मात्रै हुनु र सांसद हुनुबीचको फरक के रहेछ ?
नेता हुँदा माग राख्नुपर्छ भन्ने हुन्थ्यो, अहिले काम गर्नुपर्छ भन्ने लाग्छ । सांसद हुँदा जवाफदेहिता बढी हुने रहेछ ।

० जिल्लाबाट राजनीति गर्नुभो, अहिले काठमाडौं बस्नुहुन्छ, जिल्ला र काठमाडौंलाई तुलना त गर्न नमिल्ला, तर अलि बढी नै फरकचाहिँ के लाग्यो ?
काठमाडौंमा बढी विभेद देखेँ । मान्छेहरू गाउँका मान्छेलाई केही थाहा छैन भन्छन्, तर मैलेचाहिँ शहरका मानिसले थाहा नपाएको पाएँ । कतिपय शहरका भन्दा गाउँका मानिस सचेत छन् । आफ्नो अधिकारका बारेमा पनि गाउँका मानिसले नै बढी आवाज उठाउँछन् । गाउँका भान्सामा भन्दा शहरका भान्सामा लैङ्गिक दासता धेरै छ । काठमाडौंमा पुराना र नयाँ मानसिकताका मान्छे बस्छन् । गाउँमा नयाँ र पुरानाबीच अब यति ठूलो खाडल छैन ।

० सांसदलाई त काठमाडौंले विभेद गर्दैन होला नि ?
– काठमाडौंमा दलितप्रति अझै विभेद छ । दलित भनेर थाहा पाएपछि डेरा नपाएको अनुभव मसँगै छ । कोठा खाली छ भनेपछि सबैभन्दा पहिला जात सोधिन्छ, नरमाइलो लाग्छ । जात सोध्नेले दलित भन्ने थाहा पाएपछि कोठा दिँदैनन् भन्ने पहिल्यै थाहा हुन्छ । भोलि आउनु भनेर भोलिपल्ट जाँदा आफैँलाई चाहियो, नदिने भन्ने गरिन्छ । काठमाडौंमा डेराको समस्या दलितलाई मात्र होइन अरूलाई पनि छ । कोठा नै पाइँदैन, अति महँगो छ । सांसदलाई डेराभाडा दिनुभन्दा बरु सांसदनिवास बनाइदिनुस् भनेर सरकारसँग हामीले माग गरिरहेका छौँ । डेरालाई लिएर सांसदहरूले ठूलो ह्युमिलिएसन भोग्नु परिरहेको छ ।

० सांसद हुँदासम्म विवाह गर्नुभएको छैन, विवाहचाहिँ कहिले गर्ने नि ?
– अभियन्ता र राजनीतिकर्मीको भूमिका निर्वाह गर्दागर्दै विवाहकाबारेमा सोच्नै पाइनँ भन्ने जवाफ दिएँ भने त्यो ढोंग हुन जान्छ । नसोचेको पनि होइन, तर सोचेर यसलाई गन्तव्यमै पुऱ्याऊँ भनेर पछि लाग्न पनि सकिएन । दलित परिवारमा सानैमा विवाह गरिदिने चलनअनुरूप मान्छे नआएका पनि होइनन् । सानो छँदा ठूलो भएपछि, पढाइ सकेपछि गर्ने भनेर मानिनँ । पछि काम गर्दै जाँदा एकपछि अर्को जिम्मेवारीहरू आए, विवाह प्राथमिकतामा परेन । अहिले त अरूको देख्दादेख्दा गरिहालुँ भन्ने उत्साह नै हराइसक्यो । अहिले धेरै वैवाहिक सम्बन्धहरू आत्मीयतापूर्ण छैनन्, अरूलाई देखाउनका लागि मात्रै विवाह गर्ने पक्षमा म छैन । एक्लै हुँदा जसरी राजनीति र अभियानलाई समय दिन सकेकी छु विवाहपछि यसैगरी दिन सकिएला कि नसकिएला भन्ने कुराले पनि मलाई विवाहका बारेमा सोच्नबाट टाढै राखिदिन्छ ।