सेतीको भिरमा सात गाई फसे

सेतीको भिरमा सात गाई फसे


सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सातवटा गाई फसेका छन् । ती गाई उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

तल सेती नदी तथा माथि भिर भएको उक्त ठाउँमा गाई कहिलेबाट फसेका हुन् सो पनि कसैलाई जानकारी छैन । सेती नदीको किनारमा भएको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ‘गाईहरू फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिनेछ ।’

फसेका गाईमध्ये केही दुधालु तथा केही गाईहरू ब्याउने अवस्थाका रहेको प्रत्यक्षदर्शी तथा स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उनले भने, ‘केही गाई दुधालु छन्, केही भने ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्न कोसिस गरेँ तर सकिनँ ।’

दीपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रूपमा छोडिएका गाई संकलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बतए । उनले भने, ‘मान्छे जान नसक्ने भिरमा गाई फसेका छन्, कसरी त्यहाँ गाई गए, कसैले धकेलेको हो कि हामी अनुसन्धान गर्दै छौँ ।’
rss