रासायनिक मलको कालोबजारी, किसान मार्कामा

रासायनिक मलको कालोबजारी, किसान मार्कामा


■ हेमशंकर सिंह, राजविराज

धान रोपाइँको बेला सप्तरीमा यतिखेर रासायनिक मलको कालोबजारीका कारण कृत्रिम अभाव सिर्जना भएको छ । गत असारको तेस्रो साता र साउनको पहिलो साता आएको बाढीले सप्तरीका विभिन्न ठाउँमा लगाएको धान बाली नष्ट हुँदा मारमा परेका किसान रोपाइँका बेला मल नपाउँदा थप पीडामा परेका छन् ।

लगाएको धान बाली बाढीले बगायो, शुरुमा मल पाए पनि अहिले आएर मल नपाइरहेको मधेपुराका किसान रामचन्द्र साहले बताए । मलबिना नै खेत रोपाइँ गरिरहेको र पछि मल पाए पनि खेतमा मल हाले पनि यसपालि धान राम्रो हुन्छ कि हुँदैन भनी चिन्ता लागेको छिन्नमस्ता गाउँपालिका– २ का रामकिसुन मण्डलले दुःखेसो पोखे ।
सहकारीका कारण सप्तरीमा रासायनिक मलको कालोबजारी बढेको स्रोतको दाबी छ । २ हजार १ सय ८८ रुपैयाँमा पाइने सरकारी अनुदानको डीएपी मल बोरामै १ हजारदेखि १ हजार ५ सयसम्म थप मूल्य तिरेर किन्नु परिरहेको उनीहरूको भनाइ छ ।

‘हुन त यो समस्या पुरानै हो । तर, यस वर्ष समस्या झन् बढेको छ,’ विष्णुपुर गाउँपालिका– १ का किसान अनिलकुमार ठाकुर भन्छन्, ‘गत वर्षसम्म बोरामा २–३ सयसम्मको फरक हुन्थ्यो । यो वर्ष एकै पटक १ हजार ५ सयसम्म थप मूल्य तिर्नुपरेको छ ।’ प्रतिबोरा पैंतीस सय तिर्न तयार हुँदा पनि नपाएपछि १ बिघा खेत डीएपी मलबिना नै रोपाइँ गरेको उनले दुःखेसो पोखे ।

यो समस्या साह र ठाकुरको मात्र होइन, प्रदेश २ का आठवटै जिल्लामा यतिबेला रासायनिक मलको हाहाकार छ । दोब्बर मूल्य तिर्न तयार हुँदासमेत किसानले मल पाएका छैनन् । उनीहरूले कतै सहकारी त कतै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालयमा घेराबन्दी गरिरहेका छन् । तर, किसानको समस्याका विषयमा तीनै तहका सरकार भने मौन छन् ।