सात वर्षदेखि भुक्तानी पाउनबाट उखु किसान वञ्चित

सात वर्षदेखि भुक्तानी पाउनबाट उखु किसान वञ्चित


पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरूलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरूले ०७५ सालमा करिब रु. ७० करोड र ०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करिब रु. चार करोडको रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौंको रकम भुक्तानी गर्न बाँकी छ ।

इन्दिरा सुगर मिल्सले ०७० सालमा करिब रु. १६ करोड र सोभन्दा अघिल्लो वर्षको करिब रु. चार करोड गरी रु. २० करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको उक्त समितिले जनाएको छ । यसैगरी ०७० सालमा लुम्बिनी चिनी उद्योगको करिब रु. १४ देखि १५ करोड र बागमती चिनी उद्योगले करिब रु. ३५ करोड किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ । समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियामार्फत कम मूल्यमा किसानलाई रकम भुक्तानी गरे पनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी छ । तत्काल रकम भुक्तानी नभए आन्दोलन गरिने उनी बताउँछन् ।

सरकारले उखुको प्रतिक्विन्टल मूल्य रु. ५३६.५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी रु. ६५.२८ प्रतिक्विन्टलका दरले यस वर्ष अनुदान दिइने जनाएको छ । चिनी उद्योगहरूले बक्यौता रकम भुक्तानी शुरु गरिसकेको जनाएका छन् । उद्योगहरूले अहिले प्राथमिकताका आधारमा किसानलाई खरिद पुर्जी संकलन गरी भुक्तानी दिन शुरु गरिसकेको उद्योगहरूको भनाइ छ । आफ्नो उद्योगले अहिलेसम्म करिब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र अब पनि बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापा बताउँछन् ।

उनका अनुसार उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले उद्योगमैत्री नीति बनाउन जरुरी छ । सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखुखेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करिब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झन्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार पाँच सय हेक्टर जमिनमा उखु खेती हुँदै आएको छ ।
rss