राजा बैंककमा

राजा बैंककमा


पूर्व श्री ५ ज्ञानेन्द्र शाह बैंकक जानुभएको छ । जेठी नातिनी पूर्णिकाको स्नातक तहको कलेज भर्नाका लागि उहाँ बैंकक जानुभए पनि राजनीतिक वृत्तमा अनेक आशङ्का र अनुमान गरिएका छन् । काठमाडौंमा स्कुल तह पूरा गरेपछि यतिबेला उनी बैंककमा अध्ययन गरिरहेकी छिन् । अर्की नातिनीको अध्ययन पनि बैंककमै सुरु भएको छ । नाति पूर्वनवयुवराज हृदयेन्द्र भने काठमाडौमैं अध्ययन गरिरहेका छन् ।

नितान्त व्यक्तिगत भनिएको बैंकक भ्रमणमा राजाका साथ बुहारी हिमानी र नाति–नातिनीहरू सहभागी छन् । पूर्वबडामहारानी कोमल पनि आगामी आइतबार बैंकक जाने बुझिएको छ । नेकपाका सहअध्यक्ष प्रचण्डले सार्वजनिक भाषणमार्फत राजालाई नागार्जुबाट निकाल्ने धम्की दिएपछि उहाँको लोकप्रियता थप चुलिएको छ । प्रचण्डको चेतावनीपछि वीरगञ्जका जनताले राजाको समर्थनमा जुलुस निकालेका थिए भने सामाजिक सञ्जालमा प्रचण्डको चाहिँ व्यापक विरोध र आलोचना भइरहेको छ ।