साफ च्याम्पियनका लागि खेलाडी छनोट

साफ च्याम्पियनका लागि खेलाडी छनोट


नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षणमा रहेका ४६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

प्रशिक्षणमा आएका ४६ खेलाडीमध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका हुन् । साफ यु–१८ फुटबल च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म हुनेछ । छनोट हुने खेलाडीमा गोेलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना छन् । त्यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बू र एन्जल महर्जन छन् ।

मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा छन् । त्यसैगरी स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डांगी छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स र भूटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।