रेणु यादवको नाममा दिनभर क्याम्पस तनावग्रस्त

रेणु यादवको नाममा दिनभर क्याम्पस तनावग्रस्त


■ हेमशंकर सिंह, राजविराज

क्याम्पस दिवसका अवसरमा दाता पक्षको नाममा सधैं रेणु यादवलाई मात्र बोकेर दाता परिवारका सदस्यलाई उपेक्षा गरेको दाता परिवारकै एक सदस्यले आरोप लगाएकी छिन् ।

समाजवादी पार्टीकी उपाध्यक्ष समेत रहेकी पूर्वमन्त्री रेणु यादवलाई राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्थापना दिवसमा प्रमुख अतिथि बनाएको निहुँमा दाता परिवारकी सदस्य ललिता देवी लता यदव पक्षधरको तालाबन्दी र अवरोधका कारण आज (मंगलबार)को लागि निर्धारित गरिएको कार्यक्रम नै स्थगित हुन पुगेको छ ।

ललिता पक्षधरहरुले तालाबन्दी गर्न गएपछि क्याम्पसमा प्रहरीसँग उनीहरुको झडप समेत भयो । दाता स्व. विन्देश्वरी प्रसाद यादवका जेठा छोरातर्फका नातिनी बुहारी रेणु यादवलाई मात्र पटक–पटक सम्मान गर्ने र प्रमुख अतिथिका रुपमा बोलाउने गरेको भन्दै स्व. यादवका कान्छा छोरातर्फकी नातिनी बुहारी ललितादेवी लता यादव पक्षले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् । यसपछि उत्पन्न विवादले दिनभर तनाव उत्पन्न भएको क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्राले बताए ।

रेणु यादवलाई प्रमुख अतिथि बनाउने आफ्नो एकल निर्णय नभई क्याम्पस प्रशासन र कर्मचारी सबैको सामूहिक निर्णय भएको दाबी गर्दै क्याम्पस प्रमुख मिश्राले भने अनावश्यक विवाद उठाई कार्यक्रम नै भाँडियो ।

रेणु यादव जग्गादाता स्व. विन्देश्वरी यादवका जेठा छोरा इन्द्रदेव यादवका एक मात्र छोरा स्व. अशोक यादवकी पत्नी हुन् भने ललितादेवी लता यादव कान्छो छोरा धर्मदेव यादवतर्फका छोरा राजेश यादवकी पत्नी हुन् ।

क्याम्पस दिवसको सम्पूर्ण तयारी पूरा भई मंगलबार क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा रेणु यादवलाई प्रमुख अतिथि बनाउने थाहा पाएर ललिता देवी लता यादव पक्षका मान्छेले नाराबाजी गर्दै तालाबन्दी गरेपछि स्थिति तनावग्रस्त बन्यो । तालाबन्दी गर्ने र खोलाउने पक्षबीच झडप नै हुन थालेपछि क्याम्पस प्रमुखले प्रहरी झिकाई स्थिति साम्य पार्ने प्रयास गरेका थिए । तथापि, अवस्था तनावपूर्ण रहेपछि क्याम्पसले कार्यक्रम स्थगित गरेको सूचना नै टाँस गर्नुपऱ्यो ।

क्याम्पसको स्थापना दिवस दाता स्व. विन्देश्वरी यादवको प्रतिमामा फुलमाला अर्पण गरी स्थगित गरियो । स्व. विन्देश्वरी यादवले १ सय १७ बिगा जग्गा दिई वि.सं. २०१४ मा स्थापना भएको क्याम्पसमा श्रावण शुल्क त्रियोदशीका दिन प्रत्येक वर्ष कयाम्पस दिवस मनाउने परम्परा रहेको छ ।