संसदमा डा. अमरेशको प्रश्न- ‘टुँडिखेल र सिंहदरबार बिचौलियालाई कहिले सुम्पने ?’

संसदमा डा. अमरेशको प्रश्न- ‘टुँडिखेल र सिंहदरबार बिचौलियालाई कहिले सुम्पने ?’


नेपाली कांग्रेसका प्रखर नेता तथा सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी र बिचौलियाहरूले घेरेर राखेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले सधैंभरि आफ्नै वरिपरि रहने भ्रष्टाचारी र बिचौलियालाई अन्देखा गर्नु शोभनीय नभएको बताए ।

प्रधानमन्त्रीले ओलीले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भने पनि आफ्नै वरिपरिका ठूला भ्रष्टाचारीहरूलाई नदेख्नु उदेकलाग्दो भएको उल्लेख गर्दै सांसद सिंहले जग्गा हडप्ने दलालहरूको विगतदेखि वर्तमानसम्मका काण्ड सुनाउँदै उनले आयल निगमबाट सुरु भएको जग्गा कब्जा गर्नेहरूको हर्कत अहिले नयाँ बसपार्कसम्म आइपुगेको बताए ।

भूमाफियाकै कारण १ सय ६५ रोपनीमा फैलिएको बसपार्क अहिले ६० रोपनीमा खुम्चिएको उनको भनाइ छ । उनले भने, ‘०४९ मा जापान सरकार र नेपाल सरकारबीच नयाँ बसपार्क बनाउने सम्झौता भयो, सम्झौता हुनेबेला नयाँ बसपार्कको जग्गा १ सय ६५ रोपनी थियो । तर, अहिले ६० रोपनीमा मात्रै बसपार्क छ भने बाँकी जग्गामा अवैध ठूला संरचना बनेका छन्, जुन कानुनविपरीत हो ।’

यसैगरी सरकारी जग्गा तेस्रो पक्षलाई लिज वा भाडामा दिन नपाउने कानुनविपरीत महानगरले बसपार्कको जग्गासमेत ल्होत्से बहुउद्देश्यीय सहकारीलाई दिएको सिंहको भनाइ थियो । सो सहकारीले उक्त जग्गामा कानुनविपरीत भौतिक संरचनाहरू निर्माण गरेको सिंहले बताए ।

उनले ०६३ सालयता कुनै ठूला भ्रष्टाचारी सरकारले फेला पार्न नसकेको भन्दै साना भ्रष्टाचारीले आत्महत्या गर्नुपर्ने तर ठूलाले सलुट खाने अवस्थाको सिर्जना भएको बताए । ‘ठूला कर्मचारी र ठूला नेता जो भ्रष्टाचारी छन् उनीहरूले सलुट खाने र सानाले आत्महत्या गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्रीमा दृष्टिदोष छ, सबै भ्रष्टाचारी र बिचौलिया प्रधानमन्त्रीको वरिपरि नै छन्,’ सांसद सिंहले भने, ‘ल्होत्से बहुउद्देश्यीय सहकारीका दीपक कुँवर नेकपाका नेता तथा रक्षामन्त्री ईश्वर पोखरेलका नजिकका व्यापारी हुन् ।’

संसद थर्काउँदै सांसद् अमरेशले प्रश्न गरे– ‘टुँडिखेल, सिंहदरबार र संसदभवन बाँकी छ, बिचौलिया र दलालहरूलाई कहिले सुम्पने सरकार ?’