प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवद्वारा राजीनामा, फिर्ता लिन पार्टीको आग्रह

प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवद्वारा राजीनामा, फिर्ता लिन पार्टीको आग्रह


स्वास्थ्यको कारण जनाउँदै प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् । डा. यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् । तर, यादवले पदबाट दिएको राजीनामा स्वीकृत भने भएको छैन ।

डा. यादव तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी बनेका हुन् । उनको राजीनामा सम्बन्धमा पार्टीमा भने कुनै छलफल नभएको बताइएको छ ।

उनी निर्वाचित भएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एक भएका थिए । दुई पार्टीको एकतापछि नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ ।

तर, उनलाई राजीमाना फिर्ता लिन समाजवादी पार्टी नेपालले आग्रह गरेको छ । मिर्गौला र मधुमेहसम्बन्धी रोगबाट पीडित सांसद यादव बेलाबेलामा बेहोस हुने गरेका छन् ।

यादवको राजीनामा स्वीकृत भए रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । यसअघि ५० रिक्त स्थानमा उपनिर्वाचन हुने भनिएकोमा यादवको राजीनामा स्वीकृत भए ५१ स्थानका लागि चुनाव गर्नुपर्ने हुन्छ । सरकारले मंसिर १४ गते उपनिर्वाचनका लागि मिति तोकिसकेको छ ।