इतिहासविद् हरिकान्त लाल दासको निधन

इतिहासविद् हरिकान्त लाल दासको निधन


■ हेमशंकर सिंह, राजविराज

ख्यातिप्राप्त इतिहासविद् हरिकान्त लाल दासको ७८ वर्षको उमेरमा निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–९ गढिया घर भएका दासको राजविराज–८ स्थित निवासमा सोमबार २७ साउन) दिउँसो साढे दुई बजेको समयमा निधन भएको हो ।

महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक दास त्रिभुवन विश्व विद्यालयमा ३७ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आइरहेका थिए । विगत केही वर्षदेखि उनी मधुमेह र हृदयरोगबाट पीडित रहँदै आएका थिए ।

सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवम् प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गरेका उनको आधा दर्जन भन्दा बढी कृति प्रकाशित छन् । पहिलो कृतिको रुपमा ‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थलहरु’ २०५८ सालमा प्रकाशन भएको थियो । जिल्लाको राजनीतिक, धार्मिक एवम् सांस्कृतिक विषयमा मिहिन ढङ्गबाट अध्ययन अनुसन्धान गर्ने उनी जिल्लाकै पहिलो व्यक्ति हुन् ।

यस्तै साझा प्रकाशनबाट उनको २०६७ सालमा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन् । उक्त पुस्तकमा जिल्लामा रहेका ऐतिहासिक गढीहरु, पूर्ण कर्णाटकालीन तथा कर्णाटकालीन गढीहरु, राजा पुरादित्यको बनौली गढ तथा सेनकालीन गढीहरुसमेतका विषयमा विस्तृत चर्चा गरिएको छ ।

उनको अर्को कृति ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०६० सालमा प्रकाशित भएको छ । यस अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाल लगायतका विषयमा समेत उनको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा समेत नेपाली र मैथिली भाषामा प्रकाशन छन् । यस्तै कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ ।

पुस्तकलाई नै धन सम्पत्ति सम्झिने दासको घरमा करिब चार हजार पुस्तक सङ्ग्रहित छन् । सयौं वर्ष पुराना पुस्तकहरु उनले अध्ययन अनुसन्धानका क्रममा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट सङ्कलन गरेका छन् । गहन अध्ययन–अनुसन्धान एवम् शोध तथा कृति प्रकाशन वापत एक दर्जनभन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको पूर्व अध्यक्ष समेत रहेका उनी लेखनमा सक्रिय रहँदै आएका थिए ।

इतिहासविद् दासका धर्मपत्नी विद्या देवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन् । उनको अन्तिम संस्कार पैतृक गाउँ गढियामा मङ्गलबार विहान गरिने धर्मपत्नी विद्यादेवीले जानकारी दिएकी छिन् ।