वैैदेशिक रोजगारीको अत्यासलाग्दो कथा

अधिकांश जोखिममा, कैयनको उतै मृत्यु





■ किशोर बुढाथोकी, सिन्धुपाल्चोक

वैदेशिक रोजगारीका क्रममा साइप्रस पुगेकी हेलम्बु १ की म्हेन्दोपेमा लामा (३३) को उतै मृत्यु भयो । राजधानीस्थित एक मेनपावरमार्फत घरेलु कामदारका रूपमा त्यहाँ पुगेकी उनको गएको असोजमा मृत्यु भएको हो ।
सीपबिना नै जोर्डनको निडल क्राफ्ट फर क्लोथिङ इन्डस्ट्रिज नामक गार्मेन्ट कम्पनीमा मेसिन अप्रेटरको काम गर्दागर्दै फटकशिलाकी २५ वर्षीया सुनिता परियारको मृत्यु भयो । तीन वर्षअघि कामको सिलसिलामा त्यहाँ पुगेकी परियारले विदेशीभूमिमै गएको असोजमा संसार छाडिन् ।
पैसा कमाउने सपना सजाएर दुबई पुगेकी चौताराकी एक तामाङ थरकी चेली स्वदेश फिरेर आइन् । बिमारी भएर राजधानीमा उपचारका लागि पुगेकी उनी त्यतिबेला झस्किइन् जतिबेला डाक्टरले उनको पाठेघर नै नभएको जानकारी दिए । विदेशमा उपचार गराउँदा थाहै नदिई उनको पाठेघर झिकिएको रहेछ ।
घरेलु कामदारका रूपमा सिरिया पुगेकी पाँचपोखरी थाङपाल गाउँपालिकास्थित थाङपालकोटकी २४ वर्षीया माया तामाङले उतै मृत्युवरण गरिन् । मालिकको यातना सहन नसकेर उद्धारको याचना गरेकी उनलाई समयमै नेपाल फिराउन नसक्दा ज्यान गएको हो ।
वैदेशिक रोजगारीका क्रममा गएको फागुनमा दुबई पुगेकी साबिक भोताङ–८ की लप्साङ तामाङको उतै मृत्यु भयो । जोर्डनमा कार्यरत स्याउलेकी सरू थापाले पनि उतै मृत्युवरण गरिन् । थापाको मृत्यु भएको आधिकारिक जानकारी गएको असोज २६ मा प्राप्त भएको हो ।
कुवेतमा मानसिक सन्तुलन गुमाएर बेवारिसे भएकी साबिक मार्मिङ–५ (हाल भोटेकोसी गाउँपालिका)की अनिशा विक केही उपचार गरेर नेपाल फर्किइन् । राम्रो उपचार गर्न नपाउँदा अन्ततः उनले पनि संसार त्यागिन् । उनी कुवेतको अलसभा अस्पतालमा उपचार गराएर विभिन्न संस्था र दूतावासको पहलमा सात वर्षपछि नेपाल फर्केकी थिइन् ।
झन्डै चार वर्षअघि इचोककी तामाङ थरकी एक कुमारी युवती गत असोजमा कुवेतमा आमा बनिन् । घरेलु कामदारको रूपमा कार्यरत उनले आफ्नै मालिकको बलात्कारबाट बसेको गर्भपछि बच्चा जन्माएकी हुन् ।

विदेश पुगेर पैसा कमाउने अनि बाँकी जीवन विलासीपूर्ण तरिकाले व्यतीत गर्ने होस् या आफ्नो जीविकोपार्जनमा सहयोग पुऱ्याउने सपना संगाल्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेर दुःख भोगेका सिन्धुचेली र उनीहरूका परिवारका यी प्रतिनिधि घटना मात्रै हुन् । असुरक्षित रूपमा विदेश जाँदा यी र यस्ता धेरै घटनाले सिन्धु चेलीलाई समस्यामा मात्रै पारेको छैन धेरैले विदेशीभूमिमै ज्यान गुमाउनुपरेको छ ।

विदेशी भूमिमा कामका लागि जान चाहने युवतीहरू जोखिम जान्दाजान्दै पनि त्यहाँ पुग्न हतार गर्ने गरेका छन् । केहीले काम पाए पनि अधिकांशले दुःख भोग्न बाध्य भएका उदाहरण प्रसस्तै छ । केही चेली दुःख, पीडाको पोको बोकेर निराश हुँदै स्वदेश फर्कन्छन् । कति चेली त उतै बेपत्ता हुन्छन् । विदेशमा सास्ती खेपेर फर्केको, श्रम शोषण, घरेलु हिंसादेखि बलात्कारको सिकारसम्म भएको, कुमारी चेलीले नासोमा बच्चा लिएर फर्केको, मानसिक सन्तुलन गुमाएकोजस्ता दृष्टान्त सिन्धुपाल्चोकका लागि नौला होइनन् ।

अहिले टेकानपुरकी एक चेली बेपत्ता छिन् । ६ वर्षदेखि कुवेतको एक घरमा काम गर्ने गरेकी गीता बोहरा उतै बेपत्ता भएको उनको परिवारले जनाएको छ । श्रीमान् कृष्णबहादुरका अनुसार गीताले पछिल्लोपटक गएको चैत १७ गते सम्पर्क गरेकी थिइन् । ‘फोन सम्पर्कमा उनले साहुले नेपाल जान दिएन भनेकी थिइन्,’ बोहराले भने, ‘त्यसपछि सम्पर्कविहीन भएको छ ।’ उनले गीताले कमाएको पैसा साहुले नेपालमा आईएमईमार्फत पठाइदिएको बताउँदै आए पनि परिवारले पैसा भने नपाएको गुनासो गरे ।

पछिल्लो कही वर्षमा कुवेतबाटै घरेलु हिंसा सहन नसकेरै स्वदेश फर्केका गोल्चेकी साङडोल्मा गोले, चन्द्रा गोले, चौताराकी कुसुम तामाङ र इचोककी मंगली तामाङलाई पौरखी नेपालले उद्धार गरी परिवारको जिम्मा लगायो । घरेलु कामदारको रूपमा कुवेत छिरेकी साबिक मांखा–२ चिम्लिङ पहरी गाउँकी कान्छी तामाङ दुई वर्षसम्म उतै बेपत्ता भइन् । त्यहाँ पुगेकै दिनदेखि सम्पर्कविहीन उनलाई विभिन्न सङ्घसंस्था र नेपाली दूतावासले खोजेर असोजमा घर फर्काए । सहकर्मीको हत्या आरोपमा गुम्बाकी डोल्मा शेर्पा कुवेती जेलबाट भर्खरै नेपाल फिरेकी छिन् । मृत्युदण्डको मुखबाट जोगिएकी उनले दश वर्ष जेलनेलको सजाय पाइन् । फिलिपिनो सहकर्मीको हत्या अभियोग लागेकी उनले ब्लड मनी बुझाएपछि मृत्युको मुखबाट जोगिइन् ।

यस्ता धेरै घटना सार्वजनिक हुन सकेका छैनन् । गरिबी, अभाव, धनी बन्ने सपना, देखासिखी र प्रलोभन परेर चेलीहरू बिदेसिन लालायित हुन्छन् । कति बाध्यता त कति रहरले विदेश पुग्छन् । अशिक्षा, भाषाको ज्ञान नहुनु, तालिम नपाउनु, परामर्श नलिनुजस्ता कारणले चेलीहरूले विदेशी भूमिमा दुःख पाइरहेका छन् । यस्ता घटना सार्वजनिक भइरहँदा पनि चेलीहरूको विदेशमोह घट्न सकेको छैन । सचेतना अपनाउन सकेका छैनन् । १६ वर्षका किशोरीदेखि ४५ वर्षसम्मका सिन्धु चेली राहदानी बनाउन प्रशासनमा लागेको भिडले यही सङ्केत गर्छ ।

देखासिकी गरेर होस् या बाध्यतामा, वैदेशिक रोजगारीका लागि जिल्लाबाट राहदानी सिफारिस गरी विशेषगरी खाडी मुलुकलाई गन्तव्य बनाएर दुःख झेलेका यी प्रतिनिधि घटना हुन् । घरको आर्थिक अवस्था कमजोर भएर केही समय विदेशमा दुःख गरी बाँकी जीवन सुखसाथ बिताउने चाहनाले धेरैलाई वैदेशिक रोजगारीले आकर्षित गरेको हो ।

विदेशबारे केही जानकारी नभएकाहरूमा ‘विदेश मोह’ बढेकै कारण पनि सिन्धु चेलीहरू विदेशभूमिमा समस्यामा पर्ने गरेका हुन् । पछिल्लो समय विशेषगरी खाडी मुलुकमा जिल्लाका चेलीहरूले दुःख पाउने क्रम पनि बढेको छ । अरूको देखासिकीकै भरमा विदेश जाने ‘भूत’ सवार हुँदा चेलीहरू विदेश भूमिमा अलपत्रमा समेत पर्ने गरेका छन् ।

सिन्धुपाल्चोकका चेलीहरू विदेशमा पुगेर जोखिममा पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा बसेर सुरक्षित आप्रवासन परियोजना (सामी)ले परामर्श दिने गरेको छ । तर, पनि जोखिम अझै ज्युँका त्युँ छ । जोखिम न्यूनीकरण नहुनुमा राहदानी सिफारिस लिन आएकाहरूले ढाँट्ने, छल्ने र अनेक बहाना बनाएकै कारण हुने गरेको हो ।

सामीका अनुसार जानकारी पाएसम्म सिन्धुपाल्चोकका २८ जनाको विदेशमै मृत्यु भएको तथ्याङ्क छ । यो आर्थिक वर्षमा मात्रै पाँचजनाले मृत्युवरण गरेको सामीकी जिल्ला संयोजक रिना श्रेष्ठले जानकारी दिइन् । ‘धेरै घटना हामीकहाँ आउँदैन, निकै डरलाग्दा घटना हुने गरेको पाइएको छ,’ उनले भनिन्, ‘हामी परामर्श दिन्छौँ, तर चेलीहरू नै त्यससलाई बेवास्ता गर्छन् ।’ उनले सीप सिकेर विदेश जान चाहनेहरूका लागि निःशुल्क तालिमको समेत व्यवस्था भएको बताइन् । जोखिम कम गर्नका लागि सामीले गाउँ–गाउँमै पुगेरसमेत परामर्श दिने गरेको छ । ‘सीप नसिकी गएकाहरू जोखिमयुक्त काम गर्न बाध्य भएको हामीले पाएका छौँ,’ उनले भनिन् ।

सामीले विदेशमा मृत्यु भएकाहरूका लागि नेपालमा शव ल्याउन, क्षतिपूर्तिका लागि आवश्यक डकुमेन्ट जुटाउन समन्वय गर्ने गरेको छ । नियमअनुसार बिमालगायत अन्य कागजात पुऱ्याएर सीप लिई विदेश पुगेर उतै मृत्यु भएको खण्डमा नियमअनुसार आउने क्षतिपूर्तिका लागि पहल गर्ने गरेको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

तथ्याङ्कअनुसार विदेशभूमिमा कामका लागि गएकामध्ये ४८.३४ प्रतिशत बिचल्लीमा पर्ने गरेका छन् । त्यस्तै २९.८९ प्रतिशतले तोकेको काम र तलब पाएका छैनन् भने १०.८७ प्रतिशत चोटपटक लागेर नेपाल फिरेका छ्न । वैदेशिक रोजगारी प्रवद्र्धन बोर्डका अनुसार ९.२४ प्रतिशतले विदेश पुगेर पनि काम पाउने गरेका छैनन् भने १.६३ प्रतिशत नेपालीको विदेशमै मृत्यु भएको छ ।

पछिल्लो समय सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढेको छ । अरूको देखासिकी गरेरै भए पनि निरक्षर महिलामा विदेशमोह बढेको हो । विदेशमा गएर पैसा कमाउने सपना उनीहरूमा हुने गरेको छ । निरक्षर, कुनै सीप नजानेका सिन्धु चेलीहरूको विदेश नै अन्तिम लक्ष्य हुने गरेको पाइएको छ ।

जिल्लामा उमेर नपुग्दै विदेशमोह बोकेर आउने किशोरीको सङ्ख्या पनि उत्तिकै छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतका अनुसार विदेश पुगेका गाउँकै दिदीहरूको सम्पन्नशाली जीवनशैली देखेर सिन्धुका चेलीहरू विदेशमोहमा फस्ने गरेका छन् । उनले धेरैजसो तामाङ समुदायका महिलाले बढी राहदानी सिफारिस लिने गरेको बताए । ‘विशेषगरी हिमाली भेगमा चेलीहरू विदेशबारे बुझ्दै नबुझी राहदानी सिफारिस लिन आउने गरेका छन्,’ बस्नेत भन्छन्, ‘उनीहरूलाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कुराहरू कार्यकक्षमै बसेर सिकाउने गरेको छु ।’ उनले सीप सिकेर मात्रै विदेश जानुपर्ने भनेर सम्झाउने गरेको बताए ।

‘सीप नसिकी विदेश गएमा त्यहाँ पाउने सम्भावित दुःखबारे जानकारी पाएपछि केही चेलीहरूले सीप सिकेर मात्रै जान्छु भनेर पछि राहदानी सिफारिस लिन आउने गरेका पनि छन्,’ प्रशासकीय अधिकृत बस्नेतले भने, ‘हामी उहाँहरूको अधिकार खोस्दैनौँ, आफू सक्षम भएर जानू भन्ने गरेका छौँ ।’ उनले सिन्धु चेली विदेशमा नफसुन् भन्ने ध्येयले आफूले कार्यकक्षमै विदेश जाँदा अपनाउनुपर्ने विधिबारे राहदानी सिफारिस लिन आउनेलाई सम्झाउने गरेको बताए ।

वैदेशिक रोजगारीका लागि जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिम र आफू जाने तयारीमा रहेको देशको भाषाबारे थाहा नभएकाहरू पनि विदेश उड्न लागेको पाइने गरेको छ । ‘विदेशबारे नबुझेकाहरू पनि पैसा कमाउने सपनामा जान लागेको पनि भेटिन्छ,’ बस्नेत भन्छन्, ‘चेलीहरू विदेशमा धेरै जोखिममा पर्ने प्रमुख कारण यही हो । उनीहरूलाई सामीलाई सीप सिकेर र आफू जाने देशको परिवेशबारे जानकारी लिएर मात्रै जान आग्रह गर्ने गरेको उनले बताए । ‘हामीले रोक्न सक्दैनौँ, जोखिम हुन सक्ने सम्भावना भएकालाई उचित परामर्श दिने हो,’ बस्नेतले दाबी गरे ।

सामीले प्रशासन परिसरमै विदेशबारे जानकारी दिने गरे पनि जोखिम भने अझै हटेको छैन । ‘हामीले विभिन्न गाउँमा गएर वडातहदेखि नै विदेशमा हुने जोखिमबारे चेतना प्रवाह गर्ने गरेका छौँ,’ परामर्शकर्ता अरुण पौडेल भन्छन्, ‘वडा नागरिक मञ्च, विद्यालय, सार्वजनिक स्थानमा कार्यक्रम राखेर विदेश जाँदा अपनाउनुपर्ने महत्वपूर्ण कुराहरूबारे जानकारी दिन्छौँ ।’

सामीले वैदेशिक रोजगारीमा मनोसामाजिक समस्या पाएकाहरूलाई समेत मनोपरामर्श दिने गरेको छ । विदेशबाट फर्केर आएका व्यक्तिहरूमा मनोसामाजिक समस्या देखिएका व्यक्तिलाई सहजीकरण गर्ने गरेको हो । ‘परिवारका सदस्य विदेशमा गएर असुरक्षित भएका अथवा पैसा कमाउन नसकेको जानकारी आएपछि परिवारमा विचलन आउँदो रहेछ, हामीले उनीहरूलाईसमेत सहजताका लागि परामर्श दिने गरेका छौँ ।’ पौडेलका अनुसार अधिकांश विदेशमा आफूले गर्ने काम, त्यहाँको परिवेश नबुझी जानेहरू समस्यामा पर्ने गरेको पाइएको बताए । बिदेसिनकै लागि राहदानी बनाउन जिल्लाका विभिन्न भेगबाट सदरमुकाम आउनेहरू प्रशस्तै छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार तीमध्ये ४० प्रतिशत महिला हुने गरेका छन् ।

(तस्बिर : वैदेशिक रोजगारीमा जानका लागि राहदानी सिफारिस लिन आएका सम्भावित जोखिममा पर्न सक्ने चेलीलाई कार्यकक्षमै परामर्श दिँदै प्रशासकीय अधिकृत भीमबहादुर बस्नेत ।)

प्रतिक्रिया