राष्ट्रिय ढुकुटीको दोहन गर्न पाइन्न : सदस्यसचिव सिलवाल

राष्ट्रिय ढुकुटीको दोहन गर्न पाइन्न : सदस्यसचिव सिलवाल


राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धि गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीले भौतिक पुर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गरेको थियो । १३औं सागको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने बताइएको छ ।

गोष्ठीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनार (विश्वकर्मा) ले गरेका थिए । उनले राखेपलाई आर्थिक रुपमा पारदर्शी रुपमा अगाडि बढाउने बताए । ‘सुशासन र संस्थागत विकासमा अबको राखेपले नयाँ मोड लिने छ ।’

उनले भने, ‘अब कर्मचारीको दरबन्दीको समस्या हल भैसकेको छ ।’ उनले अपेक्षाकृत लगानी प्राप्त नभएका कारण सिमित साधन स्रोतमा नेपाली खेलकुद अगाडि बढेको बताए । उनले प्रदेश र स्थानीय तहमा भौतिक पुर्वाधार निर्माण हुने र ती पुर्वाधार गुणस्तरीय र समयभित्र नै सम्पन्न गर्नका लागि गोष्ठी कोशेढुंगा सावित हुने बताए ।

सदस्यसचिव रमेशकुमार सिलवालले नीति र योजना बनाएर काम गर्ने परिपाटीएको विकास गर्न लागेको र आम जनसमुदायमा खेलकुदलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए । उनले तोकिएको मिति भित्र काम सम्पन्न गर्नका लागि कार्य विभाजन गरेर अगाडि बढ्ने योजना बनाएको बताए । उनले विगतमा राखेपमा पेश्कि लिएर फछ्यौट नगर्ने परिपार्टी रहेको बताउँदै भने,‘विगतमा राखेपमा केहि बदमासी भएको देखियो । पेश्की लिने र समयमा पछ्यौट नगर्ने परिपार्टी रहेछ, अब यसको अन्त्य गर्नुपर्छ । मेरो कार्यकालमा पेश्किी घट्छ बढ्दैन ।’

उनले आर्थिक प्रशासनमा शुसासन कायम गरेपछि खेलकुदको छवि राम्रो हुने धारणा व्यक्त गरे । स्वच्छ प्रशासन, पारदर्शिता, नीतिनियममा काम गर्नुपर्ने र राष्ट्रिय ढुकुटीको दोहन गर्न नपाइने, त्यस्तो गर्ने व्यक्तिको नाम सार्वजनिक गरिने उनको प्रष्टोक्ति थियो ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आर्थिक पारदर्शीतामा खेलकुद संघहरुलाई ल्याउने यस अघि पनि राखेपमा आफ्नो संयोजकत्वमा बनेको पेश्की फछ्यौट समितिले कार्य गरेर प्रतिवेदन बुझाएको बताए । उनले योजनाबद्ध रुपमा काम गर्दै नेपालको खेल क्षेत्रलाई समृद्ध बनाउने तयारी शुरु भएको बताए ।

महालेखा परिक्षक दामोदर पुडासैनले खेलकुदमा बर्षेनी बेरुजु बढिरहेको बताए । ११ सय ७४ जनाको नाममा बेरुजु रहेको बताउँदै भने, ‘यो कसैको पनि हितमा छैन । आर्थिक ऐन नियम विपरित जाने कोहि पनि बचेका छैनन् र कसैले पनि बचाउन सक्दैन ।’ उनले शुरुमा नै खरिद योजना बनाएर कार्यन्वन गर्न सुझाव समेत दिए ।

त्यस्तै, अर्थमन्त्रालयका उपसचिव मोहनसिंह बस्नेतले असारको अन्तिममा रकामान्तरण गर्ने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले स्विकृत कार्यक्रममा ध्यान केन्द्रित गरेर काम गर्न आग्रह गर्दै भने, ‘सार्वजनिक खरिद ऐन संशोधन भएको छ । यसले काम गर्न थप सहज बनाएको मैले विश्वास लिएको छ । अब भदौ १५ भित्र टेन्डर आव्हान गरेर समयमा काम हुनेमा विश्वास छ ।’

कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख भोजराज पौडेलले अन्तिम महिनामा बढि खर्च गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘कार्यक्रम स्वीकृत भैसकेर आइसकेकोले अब साउन महिनाभित्र तयारी गरेर, भदौ महिनामा ठेक्का पट्टाको सूचना आव्हान गरेर असोजभित्र सम्झौता गरिसक्नुपर्ने छ’ उनले भने, ‘यसले समयमा नै तोकिएको लक्ष्य हासिल गर्न सहयोग गर्ने छ ।’