भारतीय विदेशमन्त्री नेपाल आउँदै

भारतीय विदेशमन्त्री नेपाल आउँदै


छिमेकी मित्रराष्ट्र भारतका विदेशमन्त्री एस. जयशंकर नेपाल आउने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आगामी भदौ ४ गते नेपाल आउन लागेका मन्त्री जयशंकरले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको बुझिएको छ । भदौ ४ गते नै आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिने कार्यक्रम छ । त्यसपछि विदेशमन्त्री जयशंकरको उच्चस्तरीय भेटघाटहरू हुनेछन् ।

बताइएअनुसार सोही दिन नेपालस्थित भारतीय दुतावासले उनलाई रात्रीभोज दिनेछ, जसमा नेपालका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई समेत बोलाइएको छ । सोही अवसरमा विदेशमन्त्री जयशंकरले नेपाली नेताहरूलाई सामूहिक तथा एक्लाएक्लै भेटघाट गर्ने कार्यक्रम बनाइएको छ ।

भारतले संविधानको धारा ३७० खारेज गरी जम्मु–कश्मीरलाई केन्द्रशासित प्रदेशमा रुपान्तरण गरेको परिवेशमा हुन लागेको विदेशमन्त्रीको नेपाल भ्रमणलाई सो मामलामा नेपालको समर्थन जुटाउने सन्दर्भसँग पनि जोडेर हेरिएको छ ।

भारतीय विदेशमन्त्री जयशंकर भदौ ५ गते विहानै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।