भ्रमण बर्ष २०२० : दैनिक ६ हजार पर्यटकको आगमन कति संभव ?

भ्रमण बर्ष २०२० : दैनिक ६ हजार पर्यटकको आगमन कति संभव ?


  • छविलाल बगाले

भ्रमण बर्ष सुरु हुन ४ महिना मात्रै बाँकी छ । सरकारले तयारी कम गरेपनि लक्ष्य भने महत्वकांक्षी राखेको छ । सरकारलाई २० लाख पर्यटकको लक्ष्यलाई भेट्न दैनिक ६ हजार पर्यटक नेपाल भित्र्याउनुपर्नेछ ।

सरकार सन् २०२० लाई भ्रमण बर्ष मनाउने तयारीमा छ । पर्यटन व्यवसायी पनि यसैको ब्यग्र प्रतिक्षामा छन् । सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्रयाउने महत्वकांक्षी योजना पनि राखेको छ । तर लक्ष्यलाई भेट्न दैनिक साढे ५ हजारदेखि ६ हजारको वरिपरी पर्यटक नेपालमा आउनुपर्ने बताउँछन् नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी । उनले लक्ष्यलाई भेट्न मुश्किल नपर्ने दावी गर्छन् ।

नेपालमा आर्थिक बर्ष २०७५/७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए । गत आर्थिक बर्षमा दैनिक ३ हजार २ सय पर्यटक नेपालमा आएको तथ्यांक पर्यटन बोर्डसँग छ । तर, पर्यटन व्यवसायी राजेन्द्र साप्कोटा भने सरकारको तयारी कम नभएकोले लक्ष्य हासिल गर्नेमा शंका उब्जिएको तर्क गर्छन् । उनले पूर्बाधार अभावका बीच पनि सरकारले पर्यटन बर्ष मनाउन लागेकोले २ बर्षपछि सार्न सरकारसमक्ष अनुरोध गरेका छन् ।

सरकारले भ्रमण बर्षलाई सफल बनाउन बाह्रैमास पर्यटक ल्याउने गरी योजना बनाउनुपर्छ । यस्तै, २४ सै घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल संचालन गर्नेपर्ने र अन्य पर्यटन पूर्बाधारमा ध्यान दिन आवश्यक छ । विगतमा नेपालमा पर्वतीय गन्तब्य र साहशिक गतिविधिका लागि मात्रै पर्यटक आउने गरेकोमा अब कला संस्कृतिका क्षेत्रलाई पनि उजागर गर्न सरकारले नयाँ अभ्यास थाल्न आवश्यक छ । यसका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सुझाव छ । उनले आगामी डिसेम्बर ३० भित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल समेत निर्माण सम्पन्न भइसक्ने दाबी गरेका छन् ।

भ्रमण बर्ष सुरु हुन ४ महिना मात्रै बाँकी रहँदा सरकारको तयारी खासै उत्साहप्रद छैन् । २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भएपनि कुन देशबाट कति पर्यटक आउँछन भन्ने एकिन अनुमान भने सरकारसँग छैन् । पर्यटन व्यवसायी बसन्तराज मिश्रले छिमेकी र अन्य मुलुकबाट कति पर्यटकको लक्ष्य राखिएको हो सरकारले खुलाउनुपर्नेमा जोड दिन्छन् ।

नेपालको हितमा हुने ठूला कार्यक्रमहरु सरकारकै कारण ओझेलमा पर्ने मुलुकका लागि कुनै नयाँ र नौलो विषय भने होइन् । पर्यटन पूर्बाधारमा निकै कमजोर मानिएको नेपालको पर्यटन क्षेत्र संभावना भएर पनि सरकारको आँखाबाट टाढा छ । १२ लाख पर्यटक भित्र्याउन मुश्किल परेको नेपाललाई २० लाख पर्यटक ल्याउन पूर्बाधार नै बाधक बन्ने पक्का छ ।