ठेकेदारको लापर्वाहीले मनाङको पूर्वाधार विकासमा धक्का

ठेकेदारको लापर्वाहीले मनाङको पूर्वाधार विकासमा धक्का


पर्यटकहरुको रोजाईमा परेको मनाङमा पूर्वाधार निर्माण कछुवा गतिमा छ । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङको पूर्वाधार विकास पछि परेको हो । काठे पुलको भरमा भगवानको नाम जपेर मनाङ यात्रा गर्न बाध्य छन् मनाङी जनता र पर्यटक ।

ठेकेदार कम्पनी ‘द क्याराभान’ले हिमाली जिल्ला मनाङमा एक अर्ब बढिको ठेक्का पाएको छ । तर पाएको ठेक्का सम्पन्न गर्नुभन्दा ओगटेर राख्ने काम भएको जिल्लाबासीको भनाई छ । निर्माण कम्पनीले मनाङका ६ वटा मोटरेवल पुल र एउटा सडक स्तरोन्नतीको जिम्मा पाएको छ । तर ठेक्का पाएको बर्षौं वितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शुन्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पदमार्गमा आएका पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

क्याराभानले मनाङमा थोंचे र तिल्चे जोड्ने गरी निर्माण गर्न लागिएको दुध खोला पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे पुल र सदरमुकाम चामेदेखि स्वर्गद्वारीसम्मको सडक स्तरोन्नतीको काम गर्ने जिम्मा लिएपनि सन्तोषजनक काम नभएको जिल्ला समन्य समितिका अध्यक्ष यज्ञप्रसाद घलेले जानकारी दिए । उनका अनुसार ठेकेदारले समयमा काम नगरेक कारण ठेक्का टुटाउने तयारीमा रहेको जानकारी दिए ।

यतिमात्रै होइन ठेकेदार कम्पनी क्याराभानले लमजुङ र मनाङको सिमानामा पर्ने म्यार्दी खोलामा र माथिल्लो मनाङको हुम्दे र ङावल जोड्ने गरी मर्स्याङ्दी नदीमाथि मोटरेवल पुल निर्माण गरेपनि अहिले दुबै पुल भत्किएका छन् । म्यार्दी खोलाको मोटरेवल पुल बगाएपछि सिधा यातायात चल्न सकेको छैन् ।

कमजोर ठाउँमा पुल निर्माण गरेकोले पुल बगाएको जानकारहरु बताउँछन् । यतिमात्रै होइन् क्याराभानले माथिल्लो मनाङको हुम्दे र ङावल जोड्ने गरी मर्स्याङ्दी नदीमा निर्माण गरेको पुल समेत भत्किएको छ । यसप्रति निस्याङ गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष कृष्ण लामाले आक्रोस पोखेका छन् । उनले ठेकेदार कम्पनीकै काण मनाङी जनताले विकासको आभाष गर्न नपाएको बताएका छन् । ‘क्याराभानले हुम्देको पुल मात्रै होइन् बेसीशहर–चामे सडक अन्तर्गतको म्यार्दी खोला पुल, दुध खोला पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे पुल र सदरमुकाम चामेदेखि स्वर्गद्धारीसम्मको सडक स्तरोन्नतीको काममा लापरबाही देखाएको छ ।’ उनले भने, ‘अब हामी चुप लागेर बस्नु हुँदैन् । हाम्रो विकासका हामी आफैंले चासो राख्न आवश्यक छ ।’

मनाङका जनप्रतिनिधिहरुले निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सरकारसमक्ष माग गरेका छन् । उनिहरुले पुनः नयाँ कम्पनीलाई ठेक्का दिन सरकारलाई आग्रह गरेका छन् ।

क्याराभानले जिल्लाको दूध खोला, पिसाङ लगायतका खोलामा पिलर मात्रै बनाएर छाडेको पनि बर्षौै वितिसक्दा पनि काम गरेको छैन् । जिल्लाका साँसदहरुले पनि पूर्बाधार विकासमा खासै चासो नदिएको आरोप जनप्रतिनिधीको छ । अहिले मनाङका जनता र पर्यटकहरु जोखिम मोलेर काठको पुलबाट यात्रा गर्न बाध्य रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको भनाई छ । उनका अनुसार ठेकेदार कम्पनीले स्थानीय सरकारलाई समेत अटेर गरेको गुनासो गरेका छन् ।

मनाङमा कामभन्दा पनि ठेक्का ओगटेर राख्ने क्याराभानलाई साँसदहरुकै भित्री सहयोग रहेको गुनासो पनि जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । पटक पटक म्याद थप्ने तर काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा उल्टै सडक डिभिजन कार्यालय दमौली भौगोेलिक विकटतालाई दोष दिन्छ । डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले यस बर्ष मनाङमा अधिक हिउँ परेकोले काम गर्न असजिलो भएको भन्दै ठेकेदार कम्पनीलाई सहयोग गरिरहेका छन् ।

सडक डिभिजनले काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा पटक पटक म्याद थपेर उल्टै भ्रष्टाचारलाई सहयोग गरेको नासों गाउँपालिका वडा नं ५ अध्यक्ष छिरिङ घ्याल्पो पुनेलले जानकारी दिए । ‘हामीलाई जनताले रमिते बन्न जिताएका होइनन्, ‘वडा अध्यक्ष पुनेलले भने, ‘विकास निर्माणमा सबैको एकमत हुन आवश्यक छ । काम नगर्ने ठेकेदारबाट विकासका आयोजना खोस्नुपर्छ ।’ जनप्रतिनिधीहरुले पछिल्लो समय सडक विभागकै कम चासोमा परेको बेसीशहर–चामे सडकमा आवश्यक पूर्बाधार निर्माण नहुँदा नागरिकहरुले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

क्याराभानले चामे–स्वर्गद्वारी सडक स्तरोन्नतीको काममा समेत ढिलाई गरेको छ । यसअघि पूर्व साँसद तथा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अगुवाईमा पटक पटक बेसीशहर–चामे सडकको निरिक्षण हुने गरेपनि पछिल्लो समय अनुगमनको काम नभएको गुनासो जिल्लाबासीको छ ।

पिसाङका समाजसेवी याङडुङ गुरुङले पुल निर्माण र सडक मर्मत तथा स्तरोन्नतीमा ढिलाई भएकोले मनाङबासीले दुःख पाएको बताए । यस्तै, पर्यटन व्यसायी विनोद गुरुङले पनि जिल्लामा पूर्वाधार विकासको गति शुन्यमा झरेको गुनासो गरे । ‘सरकारले पर्यटन बर्ष २०२० मनाउने तयारी गरिरहेका बेला अन्नपूर्ण पदमार्गको जिल्ला मनाङमा पूर्बाधार विकासको गति कछुवा शैलीमा छ ।’ उनले भने, ‘यस्तो विकासले कसरी २० लाख पर्यटक नेपाल आउँछन् ?’