पर्यटन बर्ष २०२० नेपाली सबैको जीवन मरणको सवाल : मन्त्री भट्टराई

पर्यटन बर्ष २०२० नेपाली सबैको जीवन मरणको सवाल : मन्त्री भट्टराई


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन बर्ष २०२० नेपाली सबैको जीवन मरणको सवाल भएको बताएका छन् । भ्रमण वर्ष सचिवालयले गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले पर्यटन बर्ष २०२० सबै नेपालीको जीवन मरणको सवाल भएको बताएका हुन् ।

पर्यटन बर्ष सरकार एक्लैको अभियान नभई सबै नेपालीको महान पर्व भएको मन्त्री भट्टराईको भनाई थियो । ‘सरकारले पर्यटन पूर्बाधारमा ध्यान दिएको छ ।’ उनले भने, ‘निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।’ लामो समयसम्म मन्त्रालय नेतृत्ववीहिन भएको भन्दै मन्त्री भट्टराईले बाँकी अवधिमा तिब्र रुपले काम गर्नुपर्नेमा जोड दिए । मन्त्री भट्टराईले भ्रमण वर्ष २०२०सँग सम्वन्धित योजना तीन दिनभित्र बुझाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपालमा २० लाख पर्यटन भित्र्याउने गरी आवश्यक पर्यटन पूर्बाधारको निर्माण तिब्र गतिमा भइरहेको पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीको भनाई छ । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको काम पनि एकसाथ भइरहेको जानकारी दिए । भ्रमण वर्ष सफल बनाउन कुटनैतिक नियोगको भूमिका किटान गर्दै सर्कुलर जारी गर्नुपर्नेमा जोड दिए । नेपालको उड्डयन क्षेत्रलाई युरोपियन युनियनको कालो सूचीबाट हटाइ नेपाल वायुसेवा निगमलाई विश्वभर उडानयोग्य बनाउने दाबी पनि उनको छ ।

सरकारको तयारी कम भएकोले पर्यटन बर्ष २ बर्षपछि सार्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । कार्यक्रममा पर्यटन व्यवसायीले नेपाल वायुसेवा निगम, महंगो हवाई इन्धन र भाडा, पूर्वाधार, भिसा शुल्क, ट्रेकिङ रुटमा लगाइएको शूल्क, एयर कन्जेशनमा सुधार ल्याउनुपर्ने सुझाव दिएका थिए ।

सो अवसरमा मन्त्री भट्टराईले आगामी डिसेम्बर ३० भित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सम्पन्न गर्न स्रोत र साधनको कमी हुन नदिनेमा जोड दिए । भ्रमण वर्ष २०२० एकै वर्षमा सम्भव नहुने भन्दै यो वर्षसँगै आउने वर्षमा समेत नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्नेमा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यको भनाई छ ।