जनताको मुहारमा हाँसो ल्याउनुस् : थापा

जनताको मुहारमा हाँसो ल्याउनुस् : थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई जनताको मुहारमा हाँसो ल्याउन र उज्यालो बनाउन सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुईदिने प्रशिक्षक प्रशिक्षणको उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले भने, ‘जनताको प्रजातन्त्रलाई बलियो बनाउनुस, नेपाली जनताको मुहारमा हाँसो ल्याउनुस् र उज्यालो मुहार बनाइदिनुस् ।’ उनले सरकारले जनताको मुहारमा हाँसो ल्याए आफ्नो पार्टीको एजेण्डा आफैँ महत्वहीन भएर जाने दाबी गरे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले वर्तमान सरकारले जनताले चाहेको परिवर्तन ल्याउन नसके स्वाभाविक रुपमा विकल्प खोज्ने बताए । ‘वर्तमान सरकारले गणतन्त्रको पक्षमा आफूलाई स्थापित गर्नुभएको छ, गणतन्त्र वा राजतन्त्र व्यवस्था हैन शासकीयस्वरुप हो, तर व्यवस्था भनको प्रजातन्त्र र लोकतन्त्र हो’, उनले भने । उनले सङ्घीयता तथा स्थानीय सुदृढस्वायत्त शासन व्यवस्था राज्यको संरचना भएको बताउँदै व्यवस्था भनेको प्रजातन्त्र नै भएको दोहो¥याए ।

अध्यक्ष थापाले धर्म निरपेक्षता पनि व्यवस्था नभएको बताए । उनले भने, ‘धर्म निरपेक्षता सामाजिक, सांस्कृतिक अवधारणा मात्र हो, त्यो असफल भए फर्ने सकिन्छ, तर जनतामा निहीत सार्वभौमसत्ता परितर्वन गर्न सकिँदैन ।’ राप्रपा संविधान र व्यवस्थाविरोधी नभएको पनि उनले प्रष्ट पारे ।

अध्यक्ष थापाले भने, ‘राप्रपा मन, वचन र कर्मले जनताको सर्वोच्चता र लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी हो ।’ उनले आगामी मङ्सिर महीनालाई गाउँ फर्क महीनाकोरुपमा लिई पार्टीका सबै तहका कार्यकर्तालाई एक महीना आ–आफ्नो गाउँमा सङ्गठन विस्तार गर्ने कार्यक्रम तय गरिएको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहोरा र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले विभाजित पार्टीलाई एक बनाइने बताए । प्रशिक्षण विभागप्रमुख भुवन पाठकले यो वर्ष पार्टी सङ्गठन विस्तारको वर्ष भएकाले जिल्लागत तथा स्थानीय तहगत रुपमा प्रशिक्षण गर्दै जाने बताए । जिल्लाध्यक्ष टुल्कु लामाले प्रशिक्षणमा मुलुकका ६० जना सहभागी भएको जानकारी दिए ।