सुनिललाल जोशी स्मृति भारोत्तोलनको तयारी पूरा


राष्ट्रको लागि भारोत्तोलन खेलमार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतिमा तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको साउन २४ गते बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरष गरी ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराइने छ ।

स्व. सुनिललालको जन्म स्थान मरु टोलस्थित मरु बैंक्वेटमा हुने प्रतियोतिामा पुरुष र महिलातर्फका स्ट्रङ्गेष्ट खेलाडीहरूलाई तेश्रो नेपाल स्ट्रङ्गेष्ट ब्यानेटका साथै नगद ११ हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै वेष्ट लिफ्टरलाई ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरूलाई आर्थिक अभावका कारण विगतमाझैँ १ हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।

करिव १२ लाख ७९ हजार २ सयको लागत रहेको प्रतियोगितामा तीन विभागीय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । बाहिरबाट आएका खेलाडीहरुको लागि खाने र बस्ने बाबा गेष्ट हाउस कलंकीले ब्यवस्था गर्ने भएको छ । प्रतियोगिता आईडब्लुएफ र एडब्लुएफको नियमानुसार खेलाइने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको लागि स्व. सुनिललाल जोशीको श्रद्धान्जलीका समयमा संघका पदाधिकारीलगायत धेरैबाट आर्थिक सहयोग गर्ने बचनबद्धता प्राप्त भएता पनि तेश्रो संस्करणसम्म आइपुग्दासम्म कतैबाट पनि बचन पूरा नभएका कारण प्रतियोगिता सञ्चालन गर्न कठिनाई भएको प्रतियोगिता संयोजक तथा जिल्ला संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए । तण्डुकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले प्रतियोगितालाई रातोबुकमा पार्नका लागि आग्रह गरेको बताए ।

प्रतिक्रिया