स्वतन्त्र जीवन बिताउने कबुल गरी विप्लवका कार्यकर्ता रिहा

स्वतन्त्र जीवन बिताउने कबुल गरी विप्लवका कार्यकर्ता रिहा


विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सचिवालय सचिव पुष्प अधिकारी आगामी दिनमा सो समूहमा नलाग्ने लिखित प्रतिबद्धता जनाएपछि बिहीबार रिहा भएका छन् । मेचीनगर–१० घर भई हाल विर्तामोड–२ मा बस्दै आएका ४१ वर्षीय अधिकारी २५ दिनअघि काठमाडौं जान लागेको अवस्थामा पक्राउ परेका थिए ।

उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रिहा भएलगत्तै अधिकारीले अब आफूले स्वतन्त्र जीवन बिताउन चाहेको र नेकपाबाट पनि राजीनामा दिइसकेको बताएका छन् । उनले विप्लव नेतृत्वको पार्टीले मे१प ६१० नंको मोटरसाइकल आफ्नो नाममा खरीद गरेको र हाल सो सवारीसाधन पार्टीले नै प्रयोग गरिरहेको खुलासा पनि गरे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नेकपामाथि प्रतिबन्ध लागेयता झापामा १६ उच्चतहका कार्यकर्ता पक्राउ परेको र पाँच जना पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धतापश्चात रिहा भइसकेका छन् ।